काठमाडौँ । नेकपा एमालेको रूपान्तरण र पुनर्संरचनाका लागि सक्रिय पुनर्जागरण अभियानले पार्टीको केन्द्रीय कमिटी बैठक अविलम्ब बोलाउन माग गरेको छ।
अभियानले बुधबार एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई मागपत्र बुझाउँदै विधानसम्मत रूपमा केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेको हो।
अभियानका तर्फबाट गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्धि परियार, नवीना लामालगायत नेता तथा कार्यकर्ता पार्टी कार्यालय च्यासल पुगेका थिए।
अभियानले बुझाएको मागपत्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको छ।
मागपत्रमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक तत्काल बसी त्यसको प्रतिवेदन सचिवालय र केन्द्रीय कमिटीमा छलफल, अध्ययन तथा सार्वजनिक गर्न माग गरिएको छ।
त्यस्तै, केन्द्रीय सचिवालयको बैठक तत्काल बोलाउन र विधानअनुसार केन्द्रीय कमिटीको बैठक अविलम्ब आयोजना गर्न पनि अभियानले माग गरेको छ।
अभियानले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको वस्तुनिष्ठ र निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएको छ। त्यसका आधारमा पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्संरचनाको स्पष्ट खाका तयार गर्नुपर्ने माग गरिएको छ।
आन्तरिक लोकतन्त्र प्रभावकारी बनाउन माग
पुनर्जागरण अभियानले नेता तथा कार्यकर्ताको मनोबल उठाउँदै जनतासँग पार्टीको सम्बन्ध पुनःस्थापित गर्नुपर्ने मागसमेत गरेको छ।
त्यस्तै, पार्टीभित्रको कमिटी प्रणाली, सामूहिक निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा अभियानले जोड दिएको छ।
पार्टीलाई नयाँ ऊर्जा, नयाँ कार्यशैली र नयाँ विश्वाससहित पुनर्गठन गर्ने दिशामा तत्काल ठोस पहल गर्नुपर्ने माग अभियानको छ।
पुनर्जागरण अभियानले एमालेको पुनःस्थापनाका लागि पार्टीभित्र शुद्धीकरण, सुदृढीकरण र पुनर्संरचना आवश्यक रहेको जनाएको छ।
अभियानका अनुसार कमिटी प्रणाली, सामूहिक निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाएर पार्टीको कार्यशैलीमा सुधार ल्याउनुपर्ने आवश्यकता छ। त्यसबाट पार्टीमा नयाँ ऊर्जा सिर्जना गर्दै नेता–कार्यकर्ताको मनोबल बढाउन सकिने अभियानको धारणा छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्