काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी संगठनलाई रणनीतिक ढंगले परिचालन गरिएको बताएका छन्।
उनले समग्रमा मुलुकको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको भए पनि शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने आपराधिक प्रवृत्तिका व्यक्ति तथा समूह यदाकदा सक्रिय हुने गरेको बताए।
“आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ,” आईजीपी कार्कीले भने, “मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ।”
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक नारायण न्यौपानेसँगको ‘नेपाल टक’ कुराकानीमा आईजीपी कार्कीले मुलुकको शान्ति सुरक्षा, सुरक्षा निकायबीचको समन्वय, सुनसरी घटनाबाट उत्पन्न परिस्थिति, कानुन कार्यान्वयन, प्रहरीका चुनौती तथा सामाजिक सञ्जालबाट फैलिने ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘डीप–फेक’ र ‘हेट–स्पिच’ लगायतका विषयमा धारणा राखेका हुन्।
शान्ति सुरक्षाको अवस्था सामान्य
आईजीपी कार्कीले संविधान तथा प्रचलित कानुनको अधीनमा रही नेपाल प्रहरीले कानुन कार्यान्वयन गर्ने प्रमुख निकायका रूपमा काम गरिरहेको बताए।
आन्तरिक शान्ति सुरक्षा तथा सार्वजनिक अमनचयन कायम राख्नुका साथै विपद् व्यवस्थापन र नागरिकको परिवर्तनको आकांक्षालाई समेत ध्यानमा राखेर प्रहरी परिचालित रहेको उनको भनाइ छ।
“अहिले समग्रतामा शान्तिसुरक्षाको स्थिति सामान्य छ,” उनले भने, “यद्यपि, शान्तिसुरक्षालाई प्रभाव पार्ने, खलल पुर्याउने गतिविधि गर्ने आपराधिक प्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पनि देखिन्छ। त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ।”
सुरक्षा निकायबीच समन्वयमा जोड
आईजीपी कार्कीले शान्ति सुरक्षा सुदृढ बनाउन तीन तहका सरकार तथा विभिन्न सुरक्षा निकायबीच सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको बताए।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा गृह मन्त्रालयसहित सम्बन्धित निकायबीच नियमित सम्पर्क र समन्वय भइरहेको छ।
“नेपालमा मात्र होइन, संसारभरि नै राज्यका संयन्त्र मजबुत हुनुपर्छ,” उनले भने, “त्यस्ता संयन्त्रको समन्वयात्मक र साझेदारीपूर्ण क्रियाकलापले शान्तिसुरक्षालाई सुदृढ तुल्याउने हो।”
मुलुकको विशिष्ट परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा निकायबीच छलफल गरेर सुरक्षा रणनीति तय गर्ने गरिएको उनले बताए।
सामाजिक सञ्जालबाट नयाँ चुनौती
आईजीपी कार्कीले पछिल्लो दशकमा नेपाली समाज भौतिकतातर्फ बढी उन्मुख हुँदै गएको बताए।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’, ‘डीप–फेक’ र ‘हेट–स्पिच’ जस्ता प्रवृत्तिले नागरिकबीचको सम्बन्ध र सामाजिक सद्भावमा असर पार्न सक्ने उनको भनाइ छ।
प्रहरीले यस्ता गतिविधिलाई गम्भीरतापूर्वक हेरिरहेको बताउँदै उनले सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे विद्यालय तहदेखि नै सचेतना फैलाउनुपर्नेमा जोड दिए।
“समाजलाई सेवावाद, कर्मवाद र हार्दिकतातर्फ लैजान सबै तह र तप्काको उत्तिकै भूमिका रहन्छ,” उनले भने।
प्रहरीले नागरिक–समुदाय–प्रहरी साझेदारीको अवधारणाअनुसार काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता गतिविधि न्यूनीकरण हुने अपेक्षा व्यक्त गरे।
सुनसरी घटनाबाट उत्पन्न परिस्थितिप्रति चिन्ता
आईजीपी कार्कीले सुनसरी घटनाबाट उत्पन्न परिस्थिति तथा अवाञ्छित गतिविधि देशमा फेरि दोहोरिन नदिन सबै पक्ष एकजुट हुनुपर्ने बताए।
नेपाली समाजको मेलमिलाप, सद्भाव र साझेदारीपूर्ण चरित्रका कारण घटनालाई समयमै नियन्त्रणमा लिन सकिएको उनको भनाइ छ।
धार्मिक तथा सामाजिक सद्भावमा विचलन ल्याउन खोजिएको आभास देखिएको उल्लेख गर्दै उनले राजनीतिक, बौद्धिक तथा आध्यात्मिक नेतृत्वसहित सबै तह र तप्काको भूमिका महत्वपूर्ण हुने बताए।
उनका अनुसार मुलुकलाई सत्मार्ग, विकास, उन्नति, सदाचार र भाइचारातर्फ डोर्याउन राजनीतिक नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ भने संस्कृतिले त्यसलाई थप सहयोग पुर्याउन सक्छ।
आईजीपी कार्कीले नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि तथा शान्तिपूर्ण र बहादुर नेपालीको पहिचान बोकेको मुलुक भएकाले त्यसको विशिष्ट पहिचान जोगाउन सबैको भूमिका आवश्यक रहेको बताए।
विद्यार्थीदेखि शिक्षकसम्म, परिवारदेखि बौद्धिक समुदायसम्म तथा धार्मिक नेतृत्वदेखि राजनीतिक नेतृत्वसम्मले सदाचारपूर्ण समाज निर्माणमा योगदान दिनुपर्ने उनको भनाइ छ।
उनले कार्यकर्ता तथा राजनीतिक नेतृत्वदेखि समाजका सबै तहका नागरिकले सामाजिक सद्भाव, भाइचारा र सदाचारलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
आईजीपी कार्कीका अनुसार शान्ति सुरक्षा केवल प्रहरीको जिम्मेवारी मात्र होइन, राज्यका सबै संयन्त्र, राजनीतिक नेतृत्व, नागरिक समाज र आम नागरिकको साझा दायित्व हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्