मुस्ताङ, २९ साउन । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ मा रहेको ऐतिहासिक चोर्टेन सडक सञ्जालको अभावमा ओझेलमा परेको छ।
कुनै समय पैदलमार्ग हुँदै लोमन्थाङ प्रवेश गर्ने यात्रुका लागि महत्वपूर्ण स्थलका रूपमा रहेको यो चोर्टेन अहिले जोमसोम–लोमन्थाङ हुँदै कोरला जोड्ने सडक सञ्जाल विस्तारसँगै ओझेलमा परेको हो।
मुस्ताङमा बुद्धका शिक्षा तथा पवित्र अवशेषको प्रतीकका रूपमा लिइने चोर्टेनले तिब्बती बौद्ध वास्तुकलाको झल्को दिन्छ। यसको धार्मिक तथा सांस्कृतिक महत्वसमेत रहेको स्थानीयवासी बताउँछन्।
यात्रु र व्यापारीको विश्रामस्थल
स्थानीयका अनुसार विगतमा चोर्टेन पैदलमार्गबाट यात्रा गर्ने पाहुना तथा व्यापारीका लागि विश्रामस्थलका रूपमा प्रयोग हुने गरेको थियो। लोमन्थाङ प्रवेशको आधारका रूपमा समेत यसलाई लिने गरिन्थ्यो।
सडक निर्माणसँगै पैदलमार्गको प्रयोग घटेपछि चोर्टेनको महत्व र चर्चा पनि कम हुँदै गएको स्थानीयको भनाइ छ।
स्थानीयवासीले सडक सञ्जाल विस्तार भए पनि ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चोर्टेनको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार यसको संरक्षण गर्न सके उपल्लो मुस्ताङको सांस्कृतिक पहिचानसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्न सक्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्