काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थालाई राजनीतिक गतिविधि र व्यक्तिगत स्वार्थबाट टाढा राख्नुपर्ने बताएका छन्।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्द्धन र व्यावसायिक हितमा केन्द्रित हुनुपर्ने बताए।
‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,’ उनले भने।
पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै अर्यालले हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षित वातावरण बनाउनुपर्ने बताए। पर्यटकलाई आकर्षित गर्न मानिसको व्यवहार, सेवा र सुविधाको गुणस्तर पनि महत्वपूर्ण हुने उनको भनाइ छ।
पर्यटन क्षेत्रको सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै उनले आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे।
पर्यटक बसपार्क आवश्यक
सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताए। अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताए। पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई आकर्षित गर्ने र नयाँ पुस्ताका लागि प्रवेशको वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए।
‘अहिलेकै संरचनाले नेपाल एयरलाइन्स बन्दैन’
नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको सभामुख अर्यालले बताए।
‘नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,’ उनले भने।
विश्वका विभिन्न एयरलाइन्स कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै अर्यालले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
नेपाली र विदेशी पर्यटकबीच सेवाका क्रममा विभेद गर्न नहुनेमा पनि उनले जोड दिए।
‘होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’ उनले भने।
सरकार असफल हुने छुट छैन
पछिल्लो निर्वाचनमा जनताले ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै सभामुख अर्यालले अब सरकार असफल हुने छुट नरहेको बताए।
उनले मुलुकलाई समृद्ध बनाउन सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
‘मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,’ अर्यालले भने।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्