रुकुमपश्चिम, ३० साउन । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ मा फैलिएको पर्यटकीय स्यार्पुताल यतिबेला पानीले टम्म भरिएको छ। करिब २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण देखिएको छ।
सिमैछरी लेकबाट दादुरे हुँदै झर्ने स्वच्छ पानी तथा स्पार्पु गाउँ र दहगाउँको काखमा रहेको स्यार्पुतालको मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
तालको सुन्दरता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। तालमा भरिएको स्वच्छ पानी, वरपरको हरियाली र प्राकृतिक वातावरणले स्यार्पुताललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै लगेको स्थानीयवासी बताउँछन्।
वन्यजन्तु र चराचुरुङ्गीको आकर्षण
बाँफिकोट गाउँपालिकाका अनुसार स्यार्पुताल वरपर विभिन्न प्रजातिका वनस्पति तथा वन्यजन्तु पाइन्छन्। ताल आसपासको जंगलमा विभिन्न प्रजातिका चराचुरुङ्गी देखिने भएकाले यहाँको प्राकृतिक आकर्षण थप बढेको छ।
स्थानीय बासिन्दाका लागि स्यार्पुताल पर्यटनको गन्तव्य मात्र नभई जीवन निर्वाहको स्रोतसमेत बनेको छ। तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको आगमन अझ बढाउन सकिने स्थानीयको अपेक्षा छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्