काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणका लागि एक ठाउँमा आएका डा. धवलशम्शेर राणा र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंबीच करिब दुई महिनामै सहकार्य टुटेको छ। राणा पक्षले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरेको छ भने प्रसाईं समूहले छुट्टै राजनीतिक दल गठन गर्ने तयारी अघि बढाएको छ।
राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी नयाँ पार्टी गठन गर्ने प्रारम्भिक सहमति बनेको थियो। तर पार्टीभित्र नेतृत्वको वरीयता, कार्यकारी अधिकार र शक्ति बाँडफाँटको विषयमा विवाद बढेपछि दुई पक्षबीच दूरी बढेको हो।
प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने तथा कार्यकारी अधिकारको स्पष्ट बाँडफाँट हुनुपर्ने माग राखेको बताइएको छ। तर राणा पक्ष त्यसमा सहमत हुन नसकेपछि सहकार्य संकटमा परेको हो।
विवाद चलिरहेका बेला प्रसाईंले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा राणाको आलोचना गरेपछि दुई पक्षबीच सहमतिको सम्भावना थप कमजोर बनेको नेताहरू बताउँछन्।
‘आजै पार्टी दर्ता गर्ने अडानले विभाजन भयो’
प्रसाईं पक्षका नेता माधव कल्पितले आफूहरू अन्तिम समयसम्म पनि एकताको पक्षमा रहेको दाबी गरे। तर राणा पक्षले शुक्रबार नै पार्टी दर्ता गर्ने अडान लिएपछि सहकार्य टुटेको उनको भनाइ छ।
उनका अनुसार प्रसाईं पक्षका केही नेताहरूले पार्टी दर्ता केही दिन पछि सारेर सहमति खोज्न प्रस्ताव गरेका थिए। तर राणा पक्षले पूर्वनिर्धारित मितिमै पार्टी दर्ता गर्ने अडान लिएपछि दुई पक्ष अलग हुने अवस्थामा पुगेका हुन्।
कल्पितले भने, “हामी मान्छे बचाउन लागेका छौँ, उनीहरूलाई नेता बन्न हतार भएको छ। आज राम्रो साइत छैन भनेर हामीले भन्दाभन्दै उहाँहरूले दर्ता गरेरै छाड्ने भन्नुभयो। नमिलेपछि कसरी सहयात्रा हुन्छ? अब दुर्गा प्रसाईंको नेतृत्वमा अर्कै पार्टी बन्छ।”
उनका अनुसार प्रसाईं पक्ष अहिले लघुवित्त तथा मिटरब्याज पीडितका मुद्दामा केन्द्रित रहेको छ।
प्रसाईंले दिए नयाँ पार्टी गठनको संकेत
दुई पक्षबीच औपचारिक दूरी बढेपछि प्रसाईंले सामाजिक सञ्जालमार्फत छुट्टै पार्टी गठन गर्ने संकेत गरेका छन्।
उनले फेसबुकमा केही समयपछि नयाँ पार्टी गठन हुने भन्दै समर्थकलाई धैर्य गर्न आग्रह गरेका छन्।
प्रसाईंले प्रस्तावित नयाँ पार्टीलाई सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टीका रूपमा प्रस्तुत गर्ने संकेत गरेका छन्। उनले वैदिक सनातनी हिन्दु अधिराज्यको अवधारणासहित पीडित, शोषित तथा उत्पीडित नागरिकको हक, अधिकार र न्यायका लागि पार्टी समर्पित हुने बताएका छन्।
यससँगै राणा र प्रसाईंले एउटै राजनीतिक प्लेटफर्मबाट अघि बढ्ने यसअघिको योजना औपचारिक रूपमा टुट्ने दिशामा पुगेको छ।
१०१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी थियो
यसअघि ‘जय नेपाल पार्टी’मा १०१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरिएको थियो। प्रारम्भिक सहमतिअनुसार राणा पक्षबाट ४० जना, प्रसाईं पक्षबाट ४० जना र दुवै समूहमा नरहेका २० जनालाई समेट्ने योजना थियो।
तर प्रसाईं पक्षसँग सहमति भंग भएपछि राणा पक्षले आफ्नै समूहका नेताहरूलाई समेटेर केन्द्रीय समिति निर्माण गरेको बताइएको छ।
यसले नयाँ पार्टी गठनको प्रारम्भिक चरणमै नेतृत्व र संगठन निर्माणसम्बन्धी विवाद सतहमा आएको देखाएको छ।
राणा पक्ष अझै संवादमा रहेको दाबी
राणा पक्षले भने प्रसाईंसँगको संवाद पूर्ण रूपमा टुटिनसकेको दाबी गरेको छ।
‘जय नेपाल पार्टी’का प्रस्तावित अध्यक्ष राणाकी प्रेस संयोजक राधिका जोशीले प्रसाईं पक्ष शुक्रबारको पार्टी दर्ता प्रक्रियामा सहभागी नहुने भए पनि पछि पार्टीमा जोडिन सक्ने बताइन्।
उनले भनिन्, “आज पार्टी दर्तामा उहाँहरू आउनुहुन्न, अलि पछि जोडिने कुरा गर्नुभएको छ।”
यसले दुई पक्षबीच राजनीतिक सहकार्यको सम्भावना पूर्ण रूपमा समाप्त भएको हो वा भविष्यमा पुनः सहमति हुन सक्छ भन्ने प्रश्न भने खुलै राखेको छ।
तर हालको अवस्थाले नयाँ राजनीतिक शक्ति निर्माणका लागि एक ठाउँमा आएका राणा र प्रसाईं नेतृत्वको शक्ति संघर्षकै कारण प्रारम्भिक चरणमै अलग–अलग राजनीतिक बाटोमा लाग्न थालेको देखाएको छ।
अब राणाले ‘जय नेपाल पार्टी’मार्फत निर्वाचन आयोगमा औपचारिक राजनीतिक यात्रा अघि बढाउने तयारी गरेका छन् भने प्रसाईंले आफ्नै नेतृत्वमा नयाँ दल गठनको तयारी थालेका छन्। एउटै राजनीतिक अभियानबाट सुरु भएको सहकार्य यति छोटो समयमै विभाजित भएपछि दुवै पक्षको संगठन निर्माण, जनसमर्थन र आगामी निर्वाचनमा प्रभाव कस्तो रहन्छ भन्ने प्रश्नसमेत उठेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्