काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगनकुमार थापाको नेतृत्वमा पार्टी कमजोर बन्दै गएको आरोप लगाएका छन्। उनले थापा नेतृत्वमा आएपछि स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको संगठन र राजनीतिक प्रभाव धरासायी भएको टिप्पणी गरे।
शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापाको नेतृत्व क्षमता र कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
“गगनजी आएपछि पार्टी चलेको छैन,” बस्नेतले भने। उनका अनुसार थापा सभापति बन्नुअघि कांग्रेसका अधिकांश तहमा बलियो अवस्थामा थियो।
बस्नेतले कांग्रेस वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभामा समेत बहुमतको अवस्थामा रहेको दाबी गरे। राष्ट्रियसभामा मात्रै बहुमत नरहेको भन्दै उनले त्यहाँ पनि तत्कालीन सभापति शेरबहादुर देउवाले एमालेसँग सहकार्य गरेर पार्टीको पक्षमा बहुमत निर्माण गरेको बताए।
“राष्ट्रिय सभामा मात्रै बहुमत थिएन। तर त्यसमा पनि एमालेसँग मिलेर सभापति शेरबहादुर देउवाले बहुमत बनाउनुभयो,” उनले भने।
थापा नेतृत्वमा आएपछि पार्टीले अपेक्षित गति लिन नसकेको आरोप लगाउँदै बस्नेतले कडा शब्दमा आलोचना गरे।
“गगनजी, तपाईंले पार्टीलाई धरासायी बनाउनुभयो, तपाईंबाट पार लाग्दैन,” उनले भने।
‘युवाको नारा मात्र दिएर हुँदैन’
बस्नेतले थापाले युवाको नेतृत्वको नारा दिए पनि व्यवहारमा त्यसअनुसार नयाँ पुस्तालाई अवसर दिन नसकेको आरोप लगाए। उनले पुरानो उखान उद्धृत गर्दै थापाको नेतृत्व क्षमतामाथि व्यंग्य गरे।
उनले आफूले थापासँग लामो समयदेखि राजनीतिक प्रतिस्पर्धा गर्दै आएको उल्लेख गर्दै अब युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्तावसमेत राखे।
“तपाईंले लड्नु भएन भने म पनि कुनै चुनाव लड्दिनँ। युवालाई नै जिम्मेवारी लगाउनुस्,” बस्नेतले भने।
देउवाको नेतृत्वमा कांग्रेस अघि बढाउनुपर्ने दाबी
बस्नेतले कांग्रेसलाई पुनः बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको बताए।
“देउवाको नेतृत्वमा कांग्रेसलाई शीर्षस्थानमा पुर्याएर मुलुकलाई निकास दिनुपर्ने अवस्था छ,” उनले भने।
कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टीको आगामी दिशाबारे तीव्र बहस भइरहेका बेला बस्नेतले देउवाको पक्षमा स्पष्ट धारणा राख्दै थापा नेतृत्वको विकल्प खोज्नुपर्ने संकेत गरेका हुन्।
उनको अभिव्यक्तिले कांग्रेसको संस्थापनइतर समूहभित्रै पनि नेतृत्व र आगामी महाधिवेशनलाई लिएर मतभेद तथा शक्ति संघर्ष कायम रहेको देखाएको छ। भेलामा देउवा पक्षका नेताहरूले पुरानो नेतृत्वको अनुभव र संगठनात्मक प्रभावलाई जोड दिइरहेका छन् भने अर्कोतर्फ नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज पनि उठिरहेको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्