काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन विधान संशोधनसम्बन्धी ४३ बुँदे प्रस्ताव प्रस्तुत गरिएको छ।
राष्ट्रिय भेलामा पूर्वगृहमन्त्री रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका हुन्। प्रस्तावमा पार्टीभित्र ‘एक व्यक्ति एक पद’ को व्यवस्था लागू गर्नेदेखि उम्मेदवार छनोट समितिमा पूर्वसभापति र सभापतिका निकटतम प्रतिस्पर्धीलाई समावेश गर्नेसम्मका विषय समेटिएका छन्।
प्रस्तावमा सामान्यतया एक व्यक्ति एकपटकमा एउटै पदमा मात्र जिम्मेवारीमा रहन सक्ने गरी आवश्यक व्यवस्था गर्न सुझाव दिइएको छ।
त्यस्तै, समानुपातिक प्रणालीबाट उम्मेदवार बनाउँदा वा पार्टीको तर्फबाट मनोनयन गर्दा एउटै व्यक्तिलाई निरन्तर अवसर दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रस्ताव गरिएको छ।
निर्वाचन प्रशिक्षण प्रतिष्ठान गठन प्रस्ताव
विधान संशोधन प्रस्तावमा नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने विषय पनि समेटिएको छ।
त्यसैगरी, पार्टीका विभिन्न तहमा निर्वाचित सभापति तथा पदाधिकारीविरुद्ध अविश्वास प्रस्तावसम्बन्धी व्यवस्थालाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने प्रस्ताव गरिएको छ।
अग्रजलाई मानार्थ प्रतिनिधिको व्यवस्था
कांग्रेसका अग्रज नेतृत्व तथा क्रियाशील सदस्यलाई सम्मानस्वरूप केन्द्रीय कार्यसमितिले निर्णय गरेर निश्चित संख्यामा मानार्थ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य मनोनयन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
४३ बुँदे प्रस्तावमा पार्टीको संगठन, नेतृत्व चयन, उम्मेदवार छनोट र आन्तरिक लोकतन्त्रसँग सम्बन्धित विभिन्न व्यवस्थालाई समयअनुकूल सुधार गर्ने विषय समेटिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्