काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपसभामुख रुबीकुमारी ठाकुरको भूमिकाप्रति प्रश्न उठाएका छन्।
महासचिव पोखरेलले सभामुख अर्यालले पछिल्लो समय आफ्नो व्यवहार सुधार्न खोजेको देखिए पनि उपसभामुख ठाकुरको भूमिकामा समेत समस्या देखिएको टिप्पणी गरेका हुन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले निर्वाचित भएपछि सभामुख र उपसभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले सभामुखको भूमिकामाथि विगतमा धेरै प्रश्न उठेको बताए।
‘निर्वाचित भएपछि तटस्थ भूमिका निर्वाह गर्नु सभामुख र उपसभामुखको कर्तव्य हो। संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। सभामुखको भूमिकाका सन्दर्भमा प्रश्नहरू धेरै उठे। उहाँले सुधार गर्न खोजेको देखियो,’ पोखरेलले लेखेका छन्।
उपसभामुख ठाकुरप्रति टिप्पणी गर्दै उनले राष्ट्रिय श्रम संस्कृति पार्टीको समानुपातिक कोटाबाट निर्वाचित सांसदले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्मविपरीत हुने दाबी गरेका छन्।
‘उपसभामुखको हकमा पनि समस्या देखिन्छ। उपसभामुख राष्ट्रिय श्रम संस्कृति पार्टीको समानुपातिक कोटाबाट निर्वाचित सांसद हो। उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार हो,’ उनले भनेका छन्।
पोखरेलले पदीय मर्यादा र संविधानको भावनाअनुरूप आचरण गर्न उपसभामुखको ध्यान पुग्न नसकेको बताएका छन्। अनुभवको कमीका कारण यस्तो भएको हुनसक्ने भन्दै उनले उपसभामुखको भूमिकामा पनि सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
उनका अनुसार संसदीय भूमिकामा निष्पक्ष हुनुको अर्थ आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णतः पलायन हुनु भने होइन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्