काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले आजदेखि १९८ वटा गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको नयाँ पल्स दर लागू गरेको छ।
कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिपछि नयाँ दर कार्यान्वयनमा ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय कलका लागि ६० सेकेन्डको नयाँ पल्स दर लागू हुनेछ।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको कम्पनीले जनाएको छ।
नयाँ पल्स दरअन्तर्गत अस्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको र लिबियालगायतका मुलुकमा कल गर्दा नयाँ पल्स दर लागू हुनेछ।
एनसेलले नयाँ पल्स दर लागू भएका सबै १९८ मुलुकको पूर्ण सूची तथा सम्बन्धित अन्तर्राष्ट्रिय कल र एसएमएस शुल्क आफ्नो वेबसाइटमा उपलब्ध गराएको जनाएको छ।
ग्राहकले आफूले फोन गर्न चाहेको मुलुकका लागि लाग्ने कल शुल्क, एसएमएस शुल्क तथा अन्य सम्बन्धित विवरण एनसेलको वेबसाइटमा रहेको ‘International Call & SMS Rate’ खण्डमार्फत हेर्न सक्नेछन्।
कम्पनीले नियामक निकायबाट स्वीकृत नयाँ पल्स दरअनुसार सेवा सञ्चालनमा ल्याइएको जनाएको छ। नयाँ दर लागू भएसँगै विदेशमा फोन गर्ने एनसेल ग्राहकले सम्बन्धित गन्तव्यअनुसार लाग्ने शुल्कबारे कल गर्नुअघि जानकारी लिन सक्नेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्