काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् जनताका प्रश्न र सरोकारको प्रतिनिधित्व गर्ने थलो भएकाले सरकारले संसद्मार्फत जनताप्रति जवाफ दिनुपर्ने बताएका हुन्।
साम्पाङले आफूहरूले लामो समयदेखि सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्दै सभामुखले समेत सरकारलाई संसद्प्रति उत्तरदायी बन्न निर्देशन दिएको बताए।
‘अब हामीले संसद्मा बोल्छौँ, सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ भन्ने माग हिजोसम्म राख्यौँ। हिजो खुसी लाग्यो, सभामुखज्यूले निर्देशन पनि दिनुभएको छ,’ उनले भने।
प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको स्पष्ट र बुँदागत जवाफ दिनुपर्ने साम्पाङको भनाइ छ।
‘आशा गर्छु, हाम्रो प्रधानमन्त्रीज्यू आएर हाम्रो प्रश्नको—हाम्रो भन्नाले हाम्रो व्यक्तिगत केही छैन, जनताको प्रश्नको—उत्तर उहाँले दफावार दिनुहुनेछ। प्रश्नको उत्तर उहाँले दिनैपर्छ,’ उनले भने।
सरकारका मन्त्रीको कार्यक्षमतामाथि प्रश्न
साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसार प्रभावकारी काम गर्न नसकेको आरोप पनि लगाए।
उनले सरकारका विभिन्न मन्त्रीको जिम्मेवारी र कार्यसम्पादनलाई जनताका दैनिक समस्यासँग जोड्दै प्रश्न उठाए।
प्रधानमन्त्रीले देशको सीमा रक्षा गर्न नसकेको, गृहमन्त्रीले नागरिकलाई पर्याप्त सुरक्षा र शान्ति–सुव्यवस्था दिन नसकेको उनको आरोप छ।
त्यस्तै, आपूर्ति मन्त्रालयले ग्यास तथा मलको सहज उपलब्धता सुनिश्चित गर्न नसकेको, श्रम तथा रोजगार मन्त्रालयले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र अर्थ मन्त्रालयले बजार चलायमान बनाउन तथा जनतालाई आवश्यक राहत उपलब्ध गराउन नसकेको उनले बताए।
महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै साम्पाङले सहकारीपीडितको रकम फिर्ता गराउने विषयमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको बताए।
‘जनताको प्रश्नको जवाफ दिनुपर्छ’
सरकारका सबै अंग र मन्त्रीहरू आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै साम्पाङले संसद्मा उठेका प्रश्नलाई सामान्य राजनीतिक बहसका रूपमा नलिन आग्रह गरे।
उनका अनुसार सांसदहरूले उठाउने प्रश्न व्यक्तिगत स्वार्थका नभई जनताका दैनिक समस्या, राज्यको सेवा प्रवाह र सरकारको कार्यसम्पादनसँग सम्बन्धित छन्।
त्यसैले प्रधानमन्त्री र मन्त्रीहरूले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने तथा सरकारले गरेका कामबारे स्पष्ट जानकारी गराउने अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए।
सरकार संसद्प्रति जवाफदेही बन्ने व्यवस्था व्यवहारमै कार्यान्वयन भए मात्र संसद्को भूमिका र जनताको प्रतिनिधित्व थप प्रभावकारी हुने उनको भनाइ थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्