काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। इलाम, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, लमजुङ र रुकुम पश्चिमका विभिन्न सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ सडक, नुवाकोटमा टोखा–छहरे सडक, लमजुङमा बेँसीसहर–मनाङ सडक र रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक पूर्णरूपमा बन्द छन्।
इलामको मेची राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। काभ्रेको बीपी राजमार्ग भने रातको समयमा बन्द गरिए पनि दिनको समयमा सवारीसाधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तै, बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। ती सडकखण्डमा जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्