काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिद प्रकरण विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिए ।
उनका अनुसार सार्वजनिक लेखा समितिबाट प्राप्त करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषयमा आयोगले अध्ययन तथा अनुसन्धान गरिरहेको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित २–३ वटा उजुरी पनि विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको उनले बताए ।
बैठकमा रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा गरी मुद्दा दायर भइसकेको जानकारी पनि दिइयो ।
मैनालीका अनुसार आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य आर्थिक वर्षमा अदालतबाट फैसला भएका मुद्दामा ७० प्रतिशतभन्दा बढीमा कसुर कायम भएको छ ।
विशेष अदालतबाट कसुर कायम नभई सफाइ पाएका मुद्दामा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने गरेको पनि उनले जानकारी दिए । विशेष अदालतबाट सफाइ भएका मुद्दामा सर्वोच्चमा पुनरावेदन दर्ता गर्ने प्रक्रिया आयोगले अघि बढाइरहेको उनको भनाइ थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्