काठमाडौं । कानूनमन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणका लागि पूर्ण प्रतिबद्ध रहेको बताइन् ।
उनले अख्तियार बलियो हुनुपर्नेमा कुनै शंका नरहेको तर संस्थाको बल त्रास सिर्जना गरेर देखाउने खालको हुन नहुने धारणा राखिन् ।
“संस्थाको बल त्रास सिर्जना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो पगरी गुथ्ने संस्था हुनु हुँदैन,” उनले भनिन्, “निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि, अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ ।”
मन्त्री गौतमले भ्रष्टाचार गर्ने व्यक्ति अख्तियारसँग डराउनुपर्ने भए पनि इमानदार कर्मचारीमा भने त्रास सिर्जना हुन नहुने बताइन् । अख्तियारको अनुसन्धान र अभियोजनका कारण इमानदार कर्मचारीले निर्णय गर्नै डराउने अवस्था आउन नहुने उनको भनाइ थियो ।
कर्मचारीतन्त्रले सरकारलाई अनिर्णयको बन्दी बनाउन नहुने
मन्त्री गौतमले कतिपय अवस्थामा कर्मचारीतन्त्रले काम नगर्दा सरकार अनिर्णयको बन्दी बन्नुपरेको बताइन् ।
सरकारी कामकारबाही प्रभावकारी बनाउन कर्मचारीले कानुनअनुसार निर्णय लिन सक्ने वातावरण आवश्यक रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका नाममा प्रशासनिक निर्णय प्रक्रियामै अवरोध सिर्जना हुन नहुने बताइन् ।
अख्तियारले अनुसन्धान तथा अभियोजन गर्दा पर्याप्त तथ्य र प्रमाणका आधारमा मात्रै प्रक्रिया अघि बढाउनुपर्नेमा पनि उनले जोड दिइन् । भ्रष्टाचार नियन्त्रणसँगै इमानदार कर्मचारीलाई निर्भीक भएर काम गर्ने वातावरण निर्माण गर्नु पनि राज्यको दायित्व भएको उनको भनाइ थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्