काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बसोबासको व्यवस्था मिलाएकै कारण किरण थापा मगरलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाइएको भन्ने प्रचार झूटो भएको बताएका छन् ।
उनले यस्तो प्रचार गर्नेहरूलाई तथ्य र प्रमाणसहित आउन चुनौती दिएका छन् । बस्नेतका अनुसार पार्टीभित्र उच्चतम एकता कायम गर्दै संसदीय दलको सर्वसम्मत बैठकबाट जेएन थपलियालाई संसदीय दलको नेता कायम राख्ने र किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने समझदारी भएको हो ।
बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, “विरोध गर्ने कुनै आधार नपाएर केपी शर्मा ओलीको बसोबास व्यवस्थापनलाई लिएर किरणले मुख्यमन्त्री पद पाएको भन्ने झुटा हल्ला फैलाइएको छ ।”
एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भए पनि केही असन्तुष्ट पक्षले घटनालाई गलत रूपमा प्रस्तुत गर्दै भ्रम फैलाउने प्रयास गरेको उनको दाबी छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओलीलाई गुण्डुस्थित विष्णु श्रेष्ठको घर भाडामा लिएर अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको उनले बताएका छन् ।
बस्नेतले बागमती प्रदेशमा सरकार गठन र नेतृत्व परिवर्तनको विषयमा समेत विभिन्न भ्रामक प्रचार भइरहेको बताएका छन् । एमाले र नेकपाबीच कार्यगत एकताको सहमति भएपछि प्रदेश तहमा सरकार गठनको प्रक्रिया अघि बढेको र सोही क्रममा संसदीय दलका नेता जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्तावसम्बन्धी छलफल भएको उनको भनाइ छ ।
त्यस क्रममा अध्यक्ष ओलीले हप्काएको, थपलिया लडेको, ढलेको वा बेहोस भएको जस्ता प्रचार पूर्णतः काल्पनिक र भ्रामक रहेको बस्नेतले दोहोर्याएका छन् ।
उनले एमाले लाखौँ समर्थक, शुभचिन्तक र कार्यकर्ता भएको पार्टी भएकाले पार्टी अध्यक्षको बसोबासको व्यवस्थापन गर्नु सामान्य तथा मानवीय जिम्मेवारी भएको बताएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्