काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ ।
डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार बसेको संस्थापनइतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।
प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने सहमति भएको छ । त्यसका लागि कानुन व्यवसायीलाई आवश्यक तयारीको जिम्मेवारी दिइएको उनले बताए ।
संस्थापनइतर समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने दाबी गरेको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनः सुनुवाइ हुन लागेको भन्दै इतर समूहले उक्त विवाद टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया रोक्नुपर्ने धारणा राखेको हो ।
कानुनी चुनौतीको तयारी
बिहीबारको बैठकमा महाधिवेशन प्रक्रिया र अदालतमा विचाराधीन पार्टी आधिकारिकतासम्बन्धी विवादबारे छलफल भएको थियो । छलफलपछि कानुन व्यवसायीलाई अदालतमा निवेदन दर्ताका लागि आवश्यक तयारी गर्न जिम्मेवारी दिइएको छ ।
यद्यपि, नेपाली कांग्रेसले भने १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको जनाएको छ । संस्थापनइतर समूहको अदालत जाने निर्णयसँगै महाधिवेशनको प्रक्रिया र पार्टीभित्रको विवाद थप कानुनी तथा राजनीतिक रूपमा पेचिलो बन्ने देखिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्