काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशको सत्ता समीकरणमा नेकपा एमालेले ‘अनैतिक खेल’ खेलेको आरोप लगाएका छन्।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयमा बोल्दै लिङ्देनले एमालेले संस्थागत रूपमा छलफल गर्नुको सट्टा प्रदेशसभा सदस्यहरूलाई व्यक्तिगत रूपमा प्रभावमा पार्ने प्रयास गरेको आरोप लगाए।
राप्रपाको कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको निर्देशनविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। साथै, उनलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरिएको लिङ्देनले जानकारी दिए।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले पार्टीको निर्णय उल्लङ्घन गरेका कारण उद्धव थापामाथि कारबाही गरिएको बताए। सरकारमा सहभागी हुने राप्रपाका अन्य सदस्यलाई समेत पार्टीले कारबाही गर्ने उनको भनाइ छ।
पार्टी निर्देशन उल्लङ्घन
लिङ्देनका अनुसार कार्यसम्पादन समितिको बैठकमा बागमती प्रदेशमा पार्टीको निर्णय र निर्देशनविपरीत एमालेका प्रस्तावित मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरिएको विषयमा मात्रै छलफल भएको थियो।
पार्टीले पटक–पटक निर्देशन दिँदा पनि प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले त्यसको उल्लङ्घन गर्दै एमाले नेतृत्वको सरकारलाई समर्थन रहेको पत्र बुझाएको उनले बताए।
अनुशासन समितिले थापासँग स्पष्टीकरण मागे पनि उनले समयमै जवाफ नदिएको र समर्थनसम्बन्धी सिफारिससमेत फिर्ता नलिएको लिङ्देनले बताए। त्यसपछि कार्यसम्पादन समितिले उनलाई साधारण सदस्यबाट निष्कासन गर्ने तथा प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए।
‘राप्रपा तटस्थ बस्ने निर्णयमा थियो’
कमल थापाले प्रदेशसभा सदस्यहरू अन्तिम समयसम्म पार्टीको निर्देशन कुरेको तर पार्टीबाट निर्देशन नआएको बताएको विषयमा लिङ्देनले त्यसलाई गलत भएको दाबी गरे।
उनका अनुसार राप्रपाले २० गते नै बागमती प्रदेशको विषयमा निर्णय गरेको थियो। त्यसपछि २१ गते बागमती प्रदेशसभाका सबै राप्रपा सदस्यलाई केन्द्रीय कार्यालयमा बोलाएर लिखित तथा मौखिक रूपमा पार्टीको निर्देशन दिइएको उनले बताए।
लिङ्देनका अनुसार प्रदेश संसदीय दलको बैठकले ११ जना प्रदेशसभा सदस्यको उपस्थितिमा कसैलाई समर्थन नगर्ने र पार्टीको निर्देशनअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको थियो।
भदौ १ गते जारी पत्रमा पनि बागमती प्रदेश सरकारको समर्थन वा विरोधमा राप्रपा सहभागी नहुने र अर्को निर्देशन नआएसम्म तटस्थ बस्ने निर्णय गरिएको उनले बताए। तर, त्यसपछि अचानक एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने पत्र बुझाइएको भन्दै लिङ्देनले त्यसलाई अनुशासनको गम्भीर उल्लङ्घन भएको बताए।
‘एमालेले सांसदलाई हातमा लिने प्रयास गर्यो’
बागमती सत्ता समीकरणमा आर्थिक चलखेलको आशंका गरिएको विषयमा प्रतिक्रिया दिँदै लिङ्देनले एमालेले विगतमा जस्तै सत्ता केन्द्रित गतिविधिमार्फत दलहरूबीच खेल्ने प्रयास गरेको आरोप लगाए।
एमालेले राप्रपासँग औपचारिक रूपमा सरकार निर्माणमा सहयोग माग नगरेको भन्दै उनले प्रदेशसभा सदस्यहरूलाई व्यक्तिगत रूपमा प्रभावमा पार्ने प्रयास भएको दाबी गरे।
‘चलखेल’ भएको कुरा पछिल्लो घटनाक्रमबाटै प्रस्ट भएको उनको भनाइ थियो। अनुशासनको कारबाहीका क्रममा फरक मत देखाउने प्रयाससमेत भएको भन्दै लिङ्देनले घटनाक्रम योजनाबद्ध भएको आफूले बुझेको बताए।
राप्रपाले अनुशासन उल्लङ्घनलाई गम्भीर रूपमा लिएको भन्दै उनले संसदीय दलका नेता उद्धव थापामाथि कारबाही भइसकेको र अब सरकारमा सहभागी हुने अन्य सदस्यलाई समेत कारबाही गरिने स्पष्ट पारे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्