काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यका लागि दुईदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका एक पदाधिकारीका अनुसार शनिबार र आइतबार बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा प्रशिक्षण कार्यक्रम हुनेछ। प्रशिक्षण पार्टी सभापति रवि लामिछानेले दिने भएका छन्।
प्रशिक्षणमा केन्द्रीय सदस्यलाई पार्टी सञ्चालन विधि, जिम्मेवारी तथा संगठनात्मक कामकारबाहीका विषयमा जानकारी गराइने जनाइएको छ।
रास्वपाको चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थप नौ जनालाई मनोनीत गरेसँगै केन्द्रीय सदस्यको संख्या १०८ पुगेको छ।
रास्वपाको विधानअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुने व्यवस्था छ। पछिल्लो प्रशिक्षण कार्यक्रमलाई पार्टीको संगठनात्मक संरचना र कार्यशैलीलाई थप व्यवस्थित बनाउने प्रयासका रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्