काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक सुगौली सन्धि पछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन्। आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
संयोजक दाहालले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गरे। उनले विगतका कमजोरीहरूप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन। यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो।’ संयोजक दाहालले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’ को सम्बन्ध रहेको चर्चा गर्दै साझा निकासका लागि चिन्तन र मनन गर्न उपस्थित विभिन्न दलका प्रतिनिधिलाई आह्वान गरे।
कम्युनिस्ट शक्तिहरूको एकता र सहकार्यले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण सम्भव हुने उनको निष्कर्ष छ।
सत्ता केन्द्रित राजनीतिले कमजोर बनाएको कम्युनिस्ट आन्दोलन
दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताए। उनले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने बताए। दाहालले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने सङ्घर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गरे।
विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीचको ऐतिहासिक सम्बन्ध र बलिदानको स्मरण गर्दै उनले अन्य वामपन्थी दलहरू, खासगरी नेकपा (एमाले) सँगको सहकार्य र एकताको अनुभवबाट शिक्षा लिनुपर्नेमा जोड दिए। विगतका कमीकमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न उनले सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई आह्वान गरे।
संयोजक दाहालले भने, ‘सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ। त्यसैले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको आन्दोलन तथा वर्गसङ्घर्षमा सहकार्य गर्दै रूपान्तरणको आधार तयार गर्नुपर्छ। हामीले विगतमा एउटै मोर्चामा लडेको अनुभव छ। नेकपा (एमाले) लगायत अन्य पार्टीसँगको विगतको सहकार्य र एकताबाट शिक्षा लिँदै विगतका कमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न आवश्यक छ । त्यसका लागि म यहाँहरू सबैसँग विशेष अपिल गर्न चाहन्छु।’ दाहालले सबै वामपन्थी शक्तिहरूलाई सहकार्यको यस नयाँ यात्रामा सहभागी हुन र कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिन विशेष अपिल समेत गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्