रसुवा । बुधबार बिहान आएको बाढीका कारण रसुवामा १९ जना प्रहरीसहित २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीमा तैनाथ २२ जना प्रहरीमध्ये नौ जनासँग मात्र सम्पर्क स्थापित भएको छ । बाँकी १३ जना अझै सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, स्याफ्रुबेँसीमा तैनाथ नौ जना प्रहरीमध्ये तीन जनासँग मात्र सम्पर्क भएको छ भने थप छ जना सम्पर्कविहीन छन् । बाढीले प्रहरी कार्यालयसमेत बगाएको जनाइएको छ ।
यसैगरी, टिमुरे बीओपीमा कार्यरत नौ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन भएका छन् । यससँगै रसुवामा १९ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरी गरी २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आएको छ ।
उद्धारमा दुई हेलिकप्टर परिचालन
बुधबार बिहान करिब ९ बजे आएको अचानक बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
खोज तथा उद्धारका लागि नेपाली सेनाले दुईवटा हेलिकप्टरसहितको टोली परिचालन गरेको छ । सेनाले स्वास्थ्यकर्मीसहितको टोली अस्पतालमा समेत तैनाथ गरेको जनाएको छ ।
उद्धार तथा राहतका लागि धुन्चे, रसुवा र धादिङको गजुरीबाट थप सुरक्षा टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारको प्रयास भइरहेको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको सुरक्षा निकायले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्