काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ। नेपाल प्रहरीले राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म ३८९ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ वटा रहेका छन्। बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। यस्तै, बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ४६६ जना घाइते तथा उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये काठमाडौँमा ८४, रसुवामा २८९, धादिङमा ३ र नुवाकोटमा ९० जना रहेका छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उद्धार तथा राहत वितरणका लागि सुरक्षा निकायका विभिन्न टोली परिचालन भइरहेका छन्। प्रतिकूल मौसम र जोखिमपूर्ण अवस्थाबीच पनि उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्