नुवाकोट । भोटेकोशीमा आएको विनाशकारी बाढीले बेत्रावतीको बस्ती तहसनहस पार्दा जुनमाया वाइबा भने अरूको ज्यान जोगाउन जुटिन् ।
भदौ १० गते माइतीघर बेत्रावती पुगेकी जुनमायाले स्याप्रुबेसीबाट फोन आएपछि बाढी आएको थाहा पाइन् । सुरुमा उनकी आमाले हरेक वर्ष आउनेजस्तै सामान्य बाढी होला भन्ने ठानेकी थिइन् । तर केही क्षणमै खोला बस्ती पस्न थालेपछि जुनमायाले आमालाई तानेर सुरक्षित स्थानतर्फ लगिन् ।
त्यसपछि उनले वरपर रहेका मानिसलाई समेत पालैपालो समाउँदै अग्लो ठाउँतर्फ पुर्याउन थालिन् ।
“अब तान्ने भयो भनेर हत्तपत्त झाडी समातेर तान्दै सबैलाई पाखा लगाएँ,” जुनमायाले सुनाइन्, “हेर्दाहेर्दै छालले मान्छे र घर लग्यो । हामी माथि जंगलमा आएर बस्यौँ ।”
उनका अनुसार उनले आफ्ना आफन्त र छिमेकी गरी करिब १५–१६ जनालाई सुरक्षित स्थानमा पुर्याउन सफल भइन् । उद्धारका क्रममा उनको कपडा पूरै भिज्यो र लेदोले भरियो ।
“खल्लीबल्ली गर्दै त्यहाँ पुगेर जोगाएको हुँ,” उनले भनिन्, “कतिलाई हेर्दाहेर्दै बगायो । अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन ।”
‘आफूसँग एक जोर कपडा मात्रै छ’
बाढीले बेत्रावतीको सिंगो बस्ती तहसनहस बनाएपछि जुनमायासँग अहिले आफूले लगाएको कपडाबाहेक केही बाँकी छैन ।
“अहिले पनि यही एक जोर कपडा लगाइरहेको छु । अरू कपडा छैन,” उनले भनिन् ।
बाँचेकाहरू अहिले केराघारीमा आश्रय लिएर बसेका छन् । पहिलो दिन त्यहाँ करिब ५०–६० जना पुगेका थिए ।
जुनमायाले बाढीमा धेरै मानिस बगरबाट माथितिर भाग्ने क्रममा भेलमा परेको आफ्नै आँखाले देखिन् । उनका अनुसार कतिपयलाई पाखातिर आउन आग्रह गर्दागर्दै बाढीले एकैपटक सोहोरेर लगेको थियो ।
गोठमा रहेका वृद्धलाई पनि बचाइन्
बाढीका बेला गोठमा गएका एक वृद्ध छिमेकीलाई समेत जुनमायाले उद्धार गरेकी थिइन् । ती वृद्ध गाईभैँसीलाई घाँस हाल्न गोठमा पुगेका बेला बाढी आएको थियो ।
“उहाँलाई उद्धार गरेँ,” उनले भनिन्, “उहाँ दाइ–भाउजुसँग बस्नुहुन्थ्यो । दुवै जनालाई बगाएर लग्यो । उहाँ बुबा अहिले एक्लै हुनुहुन्छ । यहाँ आश्रय लिएर बस्नुभएको छ ।”
‘७९ वर्षसम्म यस्तो बाढी देखिनँ’
७९ वर्षीया सुकुमाया तामाङ भने छोरीहरूले आफूलाई घिसार्दै डाँडासम्म पुर्याएकाले बाँचेको बताउँछिन् ।
“छोरीहरूले घिस्रिँदै माथि डाँडासम्म ल्याएको भएर म बाँचेँ,” उनले भनिन्, “अरू रहेनन् । भएको जिलोपिलो सबै लग्यो ।”
उनका आँखै अगाडि छिमेकीहरू बाढीमा परेका थिए । जीवनमा पहिलोपटक यति ठूलो बाढी देखेकी सुकुमाया अझै पनि घटनाको त्रासबाट बाहिर आउन सकेकी छैनन् ।
“यस्तो कहिले भएको थिएन,” उनले भनिन्, “यसपटक के आएको हो । यति दुःख दिनुभन्दा जन्म नै नदिएको भए हुने ।”
आमालाई सम्झाउँदै छोरी जुनमायाले भनिन्, “घर गए पनि बचियो । अब रोएर हुँदैन ।”
भोटेकोशी बाढीले बेत्रावतीमा ठूलो जनधनको क्षति गरे पनि विपद्को क्षणमा जुनमायाजस्ता स्थानीयको तत्काल सक्रियताले धेरैको ज्यान जोगिएको देखिन्छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्