काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाजस्तो जनताको भरोसा भएको संस्था राजनीतिक विवादमा पर्न नहुने बताएका छन् ।
शुक्रबार रसुवाका भोटेकोसी बाढीपीडितका लागि राहत हस्तान्तरण कार्यक्रममा बोल्दै ओलीले बाढी प्रभावित क्षेत्रमा देखिएको ‘ग्रीन आर्मी’ बारे प्रश्न उठाउँदै यसको उद्देश्य, संरचना र स्रोतबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
ओलीले २०७२ सालको भूकम्पका बेला राहतमा सक्रिय भएका व्यक्तिहरूले अहिले पनि काम गरिरहेको आफूलाई जानकारी भएको बताए । तर, ‘ग्रीन आर्मी’ नामको संरचना भने त्यतिबेला र कोभिड–१९ महामारीका बेला नदेखिएको उनको भनाइ थियो ।
“०७२ सालमा पनि राहत पुर्याएका मान्छेहरू लागेर यो गरेका छौँ । त्यो संस्था ०७२ मा थिएन, कोभिडमा थिएन,” ओलीले भने ।
उनले गत वर्षको बाढी तथा जेनजी आन्दोलनका क्रममा पनि त्यस्तो जनशक्ति नेपाली सेनाको युनिफर्ममा नदेखिएको बताए ।
“त्यो शक्ति युनिफर्ममा देखिएन । अर्कै युनिफर्ममा थियो कि ? सामान्य युनिफर्ममा थियो कि ? यो कुरा विचार गर्नुपर्ने बाध्यकारी स्थिति आइपरेको छ,” ओलीले भने, “के हो यो ग्रीन आर्मी भनेको ?”
‘भोलेन्टियरको दर्ज्यानी चिह्न ?’
ओलीले ‘ग्रीन आर्मी’मा देखिएका कतिपय व्यक्तिको पोसाक नेपाली सेनाको जस्तो देखिएको र केहीमा दर्ज्यानी चिह्नजस्ता संकेतसमेत देखिएको भन्दै प्रश्न उठाए ।
“आर्मी युनिफर्ममा देखिएको छ । कतिपयको त दर्ज्यानी चिह्न जस्ता देखिन्छन् । भोलेन्टियरको दर्ज्यानी चिह्न ?,” उनले प्रश्न गरे ।
सेना र सशस्त्र प्रहरीले उक्त समूहलाई तालिम दिएको भन्ने सुनिएको भन्दै ओलीले त्यसमा समेत आपत्ति जनाए । विद्यार्थीलाई आवधिक तालिम दिने तथा भूतपूर्व सैनिकहरूको एउटा फोरम रहेको उल्लेख गर्दै उनले लाखौँको संख्यामा रहेका भूतपूर्व सैनिक भने आफ्नो परिचयका साथ त्यस्तो रूपमा नदेखिएको बताए ।
‘खर्चको स्रोत के हो ?’
ओलीले ‘ग्रीन आर्मी’लाई सेना र सशस्त्र प्रहरीले तालिम दिएको हो भने त्यसमा भएको खर्चको स्रोतसमेत स्पष्ट हुनुपर्ने बताए ।
आफू प्रधानमन्त्री भएका बेला संस्था दर्ता भएको भन्ने भनाइप्रति पनि उनले आपत्ति जनाए ।
“म प्रधानमन्त्री भएका बेला दर्ता गरेको भन्ने भनाइ आएको छ,” ओलीले भने, “कसले के–के संस्था दर्ता गरेको छ । संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको हुन्छ ?”
उनले ‘ग्रीन आर्मी’ के उद्देश्यले गठन वा परिचालन गरिएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताए ।
यस विषयमा सरकार, रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले स्पष्ट पार्नुपर्ने ओलीको भनाइ छ ।
“भित्रभित्रै यी काम केका लागि भइरहेको छ,” ओलीले प्रश्न गर्दै भने ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्