स्वीट्जरल्याण्ड,१२ वैशाख। सिरियामा मानवीय सङ्कट बढीरहँदा मङ्गलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएको छ ।
सिरिया र छिमेकी पाँच विभिन्न मुलुकमा द्वन्द्वका कारण विस्थापित बनेका एक करोड ७० लाख नागरिकले खाद्यान्नको सङ्कट झेल्नुपरेको डव्लुएचओले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायको ब्रसेल्समा भएको भेलाले सिरियाली जनताको जीवनरक्षाका लागि खाद्यान्न लगायत अतिआवश्यक दैनिक उपभोगका वस्तुका लागि थप लगानी गर्नु पर्ने देखिएको डब्लुएचओको को भनाई छ ।
सिरियाली द्वन्द्व, विभिन्न सामानको अभाव, असुरक्षा, सामान्य जनजीवनमा अवरोधको अवस्थाले लाखौँ सिरियालीलाई स्वास्थ्य सहयोगकोसमेत खाँचो रहेको छ ।
यसैबीच सिरियाबाट विभिन्न छिमेकी मुलुकमा गई शरण लिई बसेका ठूलो सङ्ख्याका सिरियाली नागरिक गरिबीको रेखामुनि बाँच्न बाध्य रहेका पाइएको र उनीहरूले अतिआवश्यकीय स्वास्थ्य सेवाको सुविधासमेत लिन नसकेको विश्व समुदायको ध्यान आकृष्ट गरिएको छ ।
सन् २०११ देखि शुरू भएको सिरियाली युद्धका कारण करिब एक करोड १३ लाख सिरियाली नागरिक देशभित्र नै बाँच्न र अन्य जीवन रक्षाका लागि चाहिने अतिआवश्यकीय सामग्रीका सहयोगको पर्खाइमा रहेका बताइएको छ । सिरियामा झण्डै आधा स्वास्थ्य सेवामात्र सम्पूर्ण रूपमा सेवा प्रदान गर्नसक्ने स्थितिमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्