काठमाडौं,१४ वैशाख । सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच भेटवार्ता भएको हो । दक्षिण कोरियाको यो भ्रमण किम परिवारकै पहिलो भ्रमण हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनावले दुई देशको सम्बन्ध निकै कटुतापूर्ण बनेको थियो । तर गएको २ महिनादेखि सुध्रिँदै आएको यी दुई देशको सम्बन्ध अप्रत्यासित रुपमा अघि बढ्न सफल भएको छ ।
उत्तर र दक्षिण कोरियाका नेताहरुले शुक्रबारको ऐतिहासिक शिखर वार्तामा शत्रुता अन्त्य गर्ने र आणविक निशस्त्रीकरणका लागि पहल गर्ने संयुक्त घोषणामा हस्ताक्षर गरेका छन्।
‘आठ करोड जनताका अघि दुवै नेता गम्भीरतापूर्वक घोषणा गर्दछौँ, आइन्दा कोरियाली प्रायःद्वीपमा युद्ध हुने छैन,’ भन्दै ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ पत्रमा हस्ताक्षर गरेका छन् ।
‘अध्यक्ष किम जोङ उन र म कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि सहमत भएका छौँ,’ हस्ताक्षरपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले भने।
किम र मुनले हस्ताक्षर गरेको दस्तावेजलाई ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ नाम दिइएको छ।
त्यस्तै दुई कोरिया एक अर्काविरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न, उत्तर कोरियाको सीमावर्ती सहर केसोङमा सम्पर्क कार्यालय खोल्न, सीमापार रेल तथा सडकमार्ग जोड्न र डिमिलिटराइज्ड जोनलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न पनि सहमत भएका छन्। त्यस्तै चीन र अमेरिकासमेतको सहभागितामा ३ \ ४ पक्षीय वार्ताको पहल पनि गरिने भएको छ।
त्यस्तै दुवै कोरियाबीच शान्ति सम्झौता गरेर औपचारिक रुपमा युद्ध समाप्त गर्न पनि तयार भएका छन्। १९५३ को युद्ध अन्त्यको औपचारिक घोषणा भएको छैन।
पान्मुन्जोमको शान्ति भवनमा मुनसँगै उभिएका किमले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सम्बोधन गरे। उनले दुवै कोरिया एक हुन अघि बढ्नुपर्ने बताए।
‘एकअर्कासँग लड्नपर्ने मानिस होइनौँ हामी। हामी एक भएर बस्नुपर्छ,’ उनले भने, ‘यो क्षणका लागि हामीले लामो समय प्रतीक्षा गरेका छौँ।’ ‘मलाई आशा छ, म आएको सडक भएर उत्तर र दक्षिणका प्रत्येक कोरियाली नागरिक हिँड्न सकून्,’ उनले थपे।
प्रतिक्रिया दिनुहोस्