
बुटवल, १६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश सभाको बैठकलाई सम्वोधन गरेका छन् । मुलुक संघीय व्यबस्थामा प्रवेश गरेपछि बनेको प्रदेश सभामा प्रधानमन्त्रीले ओली पहिलो पटक सम्वोधन गरेका हुन् ।
प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकलाई सम्वोधन गर्दै ओलीले देशलाई तिव्रगतिको विकास चाहिएको र चाहेको खण्डमा त्यस्तो विकास गर्न सकिने बताए । उनले लुम्बिनीमा छोटो अवधिमा तीन हजार मानिस अट्नसकिने सभाहल बनाएको भन्दै चाहेको खण्डमा विकास गर्न सकिने कुराको उदाहरण दिए ।
ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।
‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’
प्रधानमन्त्री ओलीले भारततर्फ लक्षित गर्दै भने, ‘जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिनु उपयुक्त हुँदैन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’
नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका छन् । तर, भैरहवा र निजगढ विमानस्थलमा उडान–अवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्