हवाई मार्ग भएर गएको माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पुगेको छ । यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ तर पनि सुन कहाँ छ भन्ने खुल्न सकेको छैन । यो सुन तस्करी काण्डमा अन्तत प्रहरी अधिकारीहरुकै संलग्नता रहेको पुष्टी हुँदै जान थालेको छ ।
तीन महिना अघि गत माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ ।
गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्व प्रहरी नायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई यसअघि पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ । ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी अधिकारीहरु भने निलम्बनमा परिसकेका छन् । प्रहरी प्रधान कार्यालयले एसपी विकास राज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरीहरु निलम्बित भएको पुष्टि गरेको छ । तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिएको छ । छानविन समितिले एसएसपी श्याम खत्रीलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाएको छ । एसएसपी खत्री २०७३ पुस २१ मा विमानस्थलबाट बाहिरिएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको अर्को घटनामा समेत मुछिएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको भन्सारबाट बाहिरिएको सुन विमानस्थलको गोल्डेन गेटबाहिर बरामद गरेको थियो । उक्त सुन पास गराउन संलग्न रहेको भन्दै खत्रीलाई पक्राउ गरिएको थियो ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले अब तस्करीलाई सघाउने दोस्रो तहमाथि अनुसन्धान केन्द्रित गरेको छ । दोस्रो तहमा प्रहरीका केही बहालवाला अधिकारी, विमानस्थलका कर्मचारी र केही सुन व्यवसायीसमेत छन् । पक्राउ परेका तत्कालीन डीआईजी निरौलालाई भने मोरङ पठाइएको छ । बयानका क्रममा निरौलाले सुन तस्करीमा मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आफूले चिनेको र उनका बाबु आफ्नो साथी रहेको बताएका थिए ।
विमानस्थलबाट सजिलै बाहिरिएको सुन गुपचुप रूपमा लैजाने क्रममा बीच बाटोबाटै हराएको घटनामा तस्कर समूहले मोरङ स्थायी घर भई गौरीघाट बस्ने सनम शाक्यलाई शंका गरेको थियो । सुन पत्ता लगाउन समूहले शाक्यलाई मोरङ पु¥याएर निरन्तर कुटपिट र करेन्ट लगाएर फागुन १८ मा हत्या गरेको थियो । शाक्यको हत्यापछि मात्रै तस्करीको सुन हराएको र उक्त सुन विमानस्थलबाटै ‘सेटिङ’ मा बाहिरिएको तथ्य खुलेको थियो ।
अहिलेसम्म तस्करीमा संग्लन भएको आंशकामा समितिले १८ जना र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । शाक्यको हत्यालगत्तै फागुन १८ गते महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल मोरङ पुगेका थिए । महाशाखाको उक्त अनुसन्धानमा कैफियत देखिएको भन्दै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । अहिले डिएसपी केसी पक्राउ परिसकेका छन् ।
यसैबीच, अनुसन्धान विशेष समितिले महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावललाई समेत नियन्त्रणमा लिएको छ । सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्क देखिएको छ ।
स्रोतका अनुसार झन्डै एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्षबाट बाहिरिएको एक गाडीभित्र रहेको दुई केजी सुन गोरेले दिएको सूचनाका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो । समितिले सई बालकृष्ण सन्जेलसँग पनि यही प्रकरणमा दोस्रोपटक बयान लिएको थियो ।
यसरी ३३ केजी सुन तस्करी काण्डमा मुछिएका र पक्राउ परेका केही प्रहरी अधिकारीहरुको विवरण यस्तो छ ः
नाम दर्जा ÷ स्थिति
गोविन्द निरौला पूर्व डिआईजी ÷ पक्राउ परेको
दिवेश लोहनी एसएसपी÷ हेड क्वार्टरमा तानिएको
श्याम खत्री एसएसपी÷ अनुसन्धान भईरहेको
विकासराज खनाल एस पी ÷ निलम्बनमा परेको
सञ्जय राउत डिएसपी÷ निलम्बनमा परेको
बालकृष्ण सञ्जेल सई÷ निलम्बनमा परेको
प्रजित केसी डिएसपी÷ पक्राउ परेको
गजेन्द्र रावल सई÷ नियन्त्रणमा लिईएको
यसरी सुन तस्करी काण्डमा यति धेरै प्रहरी अधिकारीहरु माथि अनुसन्धान भएको यो पहिलो पटक हो । अझै धेरै प्रहरी अधिकारीहरुमाथि अनुसन्धान समितिले छानविन गरिरहेको छ । सुन तस्करी काण्डमा स्वयं यति धेरै प्रहरीका हाकिमहरु संलग्न हुनु पक्कैपनि लाजमर्दो विषय हो ।
३५ किलो सुनको कमिसन विवाद संसदको लेखा समिति हुँदै अख्तियारसम्म पुगेपछि २ वर्षयता सुन बरामद हुन छाडेको थियो । तर गएको माघ पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन बरामद भएपछि फेरि सुन तस्करी मौलाउँदै जान थालेको थियो । काठमाडौको कोटेश्वरबाट २०७० साल असारमा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको ३५ किलो सुन निकै ठूलो विवादमा फसेको थियो । आजसम्म पनि उक्त सुन बरामद गर्न सहयोग पु¥याउने वास्तविक सुराकीलाई कमिशन दिईएको छैन । प्रहरीकै हाकिमहरुले आफ्ना नातागोता र ईष्टमित्रको नाम सुराकीमा राखेर कमिशन खान खोजेका थिए । तर खान पाएनन् । यसरी पहेंलो धातु सुनमाथि प्रहरीका हाकिमहरुको गिद्दे नजर पर्न थालेपछि प्रहरीकै संरक्षणमा नेपालमा सुन तस्करी गर्नेहरु मौलाउँदै जान थालेका हुन् । अहिले ३३ केजी सुन तस्करी प्रकरणले ठूलै चर्चा पाएको छ ।
२०७० साल असारमा एकैपटक समातिएको ३५ किलो सुनबारे व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा पटक–पटक चर्चा पनि भयो । सोही ३५ किलो सुन सुराकी प्रकरण को फाइल अख्तियारले पनि अनुसन्धान थालेपछि राजश्व विभागले दिने कमिशन भारी मात्रामा कटौती भयो । जतिकिलो बरामद गरेपनि ५ लाख मात्रै कमिशन दिने निर्णयपछि प्रहरीको सक्रियता कमजोर भएको थियो । किचलो बढेपछि सुन फाट्ट फुट्ट मात्रै बरामद भयो । पुन प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएपछि तस्करी गरी ल्याइएको सुन बरामद हुन थाल्यो ।
गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको हो । सेटिङ मिलाएर विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै एकाएक गायब भएको थियो । त्यसपछि सुरु भयो ३३ केजी सुन प्रकरण ।
गत माघ २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा ज्यानमारा दुर्घटना भयो । थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनको गुड्दै गरेको ट्याङकरमा ठोक्किएर मृत्यु भयो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिसिटिभी फुटेजमा बन ट्याङ्करमा ठोक्किन गएको देखिएको छ । अहिले छानबिन समितिले गरिरहेको अनुसन्धानमा बनले नै ३३ केजी सुन विमानस्थलबाट बाहिर निकालेको हुनसक्ने आशंका छ । सुन हराएपछि तस्करहरुको निशानामा सानु बन परेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको एक महिनापछि फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्र्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पा¥यो । सनम शाक्य सुन तस्करी समूहका एकाउन्टेन्टका रूपमा काम गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न हिँडेको गाडी प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लियो । भारततिर लैजाँदै गर्दा विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोरपिओमा शाक्यको शव महाशाखाको टोलीले फेला पारेको थियो । प्रहरीले ३० वर्षीय गाडी चालक टेकराज मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु ग¥यो । उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की समातिए ।
३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी नै शंकाको घेरामा परे । तस्करसँग मिलेमतोको आशंकामा गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते लोहनीलाई जिम्मेवारीबाट मुक्त भएको पत्र थमायो । उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भए ।
चैत ३० गते बिहान ३३ केजी सुन काण्डको अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका काठमाडौँको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीको रहस्यमय मृत्यु भयो । अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरुवालमा लगाएको इजार प्रयोग गरी बिहान ४ बजेतिर बाथरुमभित्र झुन्डिएको अवस्थामा प्रहरीले फेला पा¥यो । चौधरी ३० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरका रूपमा कार्यरत थिए ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सुन प्रकरणमा अनुसन्धानको लागि राजनीतिक नेता, सुन व्यापारी, विमानका कर्मचारीदेखि पूर्व डिआइजी र बहालवाल एसपीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ । न्युरोडस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जयमातादी गोल्डका सञ्चालक पवन अग्रवालसमेत यस काण्डमा पक्राउ परेका छन् । अनुसन्धान टोलीले नियन्त्रणमा लिएकामध्ये थाई एयरका कर्मचारीसमेत छन् ।
मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन लगायत छन् । समातिनेमा एक भारतीय नागरिक महावीर गोल्यान समेत छन् । छानबिन समितिले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरी वृत्तमै हलचल मच्चाएका साढे ३३ केजी सुनका मालिक हुन् मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ । उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।
प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्या भएपछि उनी अनुसन्धानको घेरामा छन् । ३३ केजी सुन तस्करीका मुख्य नाइके भएको आरोपमा प्रहरीले चुडामणि उप्रेती गोरेलाई खोजी गरिरहेको छ ।
नेपाल भारत सुन तस्करीमा तीन तहको घेरा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले बताउने गरेका छन् । पहिलो तहका कारोबारी कतार दुबई, हङकङ र तिब्बत चीन कमाण्ड सम्हाल्छन् । उनीहरुले नेपालको विमानस्थल वा भूभागसम्म ल्याइ दिने मात्रै काम गर्छन् । दोस्रो तहका नेपाल बसेर सहयोगी मार्फत भन्सार कटाउन सक्रिय हुन्छन् । दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ताहरु हुन्छन् । उनीहरुको यसमा लगानी हुदैन । उनीहरु रसुवा हुँदै सुन भित्र्याउने र हङकङ तथा कतार, दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन् ।
नेपाल प्रहरीले २०७१ मा तयार गरेको एक प्रतिवेदन अनुसार तेस्रो तहका कारोबारी भने काठमाडौं, वीरगन्ज, भैरहवा, सुनौली क्षेत्रमा क्रियाशिल हुन्छन् । विदेशका जुनसकै माध्यमबाट आएको भए पनि सुरक्षित रुपमा काठमाडौंमा रहेको काँचो सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीलाई जिम्मा दिन्छन् ।
प्रहरी अनुसन्धान प्रतिवेदन अनुसार मुरारीलाल गोयल, बालकृष्ण अग्रवाल, पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण सोनी, घनश्याम कुकरा, गोपाल कुकरा, राजेश अग्रवाल, विक्की अग्रवाल, घनश्याम अग्रवाल, ग्याम्जो लामा, मोहनकुमार अग्रवाल, सञ्जय पाण्डे र बलराम गुप्ता काठमाडौंमै बसेर तस्करीमा सक्रिय छन् । त्यस्तै, ज्ञानकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, विनोदकुमार सोनी, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का, सुमन अग्रवाल पनि सहयोगी देखिएका छन् । प्रभु सर्राफ, उमेश साह, रामबाबु साह, रजनी साह र राजु द्वारा वीरगन्जमा सक्रिय छन् । सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ । दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ पर्ने गर्दछन् । प्रहरी प्रधान कार्यालयका अनुसार पाँच वर्ष यता प्रहरीले सुन तस्करी अभियोगमा १ सय ४८ जनालाई पक्राउ गरिसकेको छ ।
विभिन्न घटनाक्रमले नेपालमा सुन तस्करी पञ्चायतकालबाटै सुरु भएको देखाउँछ । २०४२ सालमा सुर्खेतबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित चन्द्रबहादुर बुढा र २०४३ सालमा लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ हङकङबाट सुन ल्याउँदा ल्याउँदै पक्राउ परेका थिए । त्यसै गरी पूर्वप्रहरी महानिरीक्षक डीबी लामा पनि सुन तस्करीमा फसेका थिए । प्रजातन्त्रकालमा विदेशबाट आउँदा भन्सार छुटमा तीन तोलासम्मका साथै भन्सार तिरेर एकैजनाले १० किलोसम्म सुन ल्याउने छुट दिन संसदीय छानबिन समिति समेत बनेको थियो ।
सामान्यतया यति ठूलो परिमाणको सुन नेपालमा खपत नहुने भएकाले थोरै मात्र नेपाली बजारमा राखेर अरु भारतीय बजार लगिन्छ । त्यहाँ लैजान अप्ठ्यारो हुँदा मात्रै स्थानीय बजार खोजिन्छ । तस्करहरुले काठमाडौ उपत्यकालाई केन्द्रविन्दु बनाएर यहाँबाट सिधै सीमापार गराउने गरेको प्रहरीको दाबी छ । धेरै जसो भारतीय व्यापारीहरुले नै सुन आयात गर्ने गरेको प्रहरीले जनाएको छ ।
नेपालमा सुन तस्करी नयाँ विषय होइन । वर्षौंदेखि तस्करी हँुदै आए पनि दुई वर्षअघि मात्रै बालाजी सन्स सुनचाँदी पसलका मालिकले करोडौं रुपैयाँ तस्करीबाट आर्जन गरेको प्रहरीले फेला पारेको थियो । अपराध महाशाखाको टोलीले घाङगेको ‘बालाजी एन्ड सन्स’ पसलबाट २ किलो १ सय ७६ ग्राम अवैध सुन, १५ किलो ८ सय ४० ग्राम चाँदी बरामद गरेको थियो ।
काठमाडौंको न्यूरोडमा सञ्चालित सुन पसल बालाजी सन्सका सञ्चालक जगन्नाथ घाङ्गेले अवैध सुनचाँदीको कारोवार गरेको सूचना पाएपछि उनीहरु नै वर्षौंदेखि सुनको अवैध कारोबारमा संलग्न रहेको खुलेको थियो । चीनबाट सिधै काँचो सुन मगाउने र भारतीय व्यापारीसम्म उनीहरुले नै पु¥याउने गरेका थिए । न्युरोडमा सञ्चालित अधिकांश सुन पसलहरुको मिलेमतोमा नै सुन तस्करी हुने गरेको प्रहरीको भनाई छ । सुन पसलका सञ्चालकहरुले नेपाललाई सुन तस्करीको ट्रान्जिट प्वाइण्ट नै बनाउने गरेका छन् ।
२०५१ देखि ०५५ सम्म त्रिशंकु सरकार बनिरहँदा सांसद किनबेचका लागि आवश्यक पर्ने रकम जोहो पनि सुन तस्करीकै आडमा हुने गरेका उदाहरण छन् । त्यतिबेला सुन तस्करी घटनाहरू अत्यधिक भएपछि जाँचबुझ गर्न संसदीय समिति गठन भएको थियो । ती समितिका फाइलहरू कता छन् कसैलाई पत्तो नै छैन् । सुन तस्करी बढ्दै जाने तर मुख्य मालिकलाई भने पक्राउ गर्न नसकिने प्रवृत्तिले तस्करी बढ्दै छ । सुन तस्करीको जालो नेपालमा मात्रै नभएर विभिन्न देशसम्म फैलिएको छ । नेपाल मात्रै यस्तो मुलुक हो जहाँ राज्यका जिम्मेवार व्यक्तिहरु नै सुन तस्करहरुसँग मिलेर किलोका किलो सुन भित्र्याईरहेका छन् । जसले संगठित अपराधलाई बढावा दिईरहेको छ ।
कुनै समय बिकीनी किलरको रुपमा चर्चित व्यक्ति चाल्र्स शोभराजले भनेका थिए, नेपालको एयरपोर्टबाट हात्ती छिराउन सक्छु । उनको यो भनाईले पनि पुष्टी गर्छ की नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल कति सुरक्षित छ भन्ने कुरा । बेला–बेला नेपाल प्रहरीको सक्रियतामा ठूलो परिमाणमा बरामद हुने यस किसिमका घटनाले भने केही हदसम्म भए पनि तस्कर समूहलाई कमजोर बनाउने नै छ, यसका लागि प्रहरीको सक्रियतालाई प्रोत्साहित गर्न पनि आवश्यक छ । तर तस्करी नियन्त्रण र उन्मूलनका लागि गरिने यो प्रयास स्थायी र प्रभावकारी भने हुन सक्दैन । राज्यको अर्थ व्यवस्थामै दीर्घकालीन असर पार्ने र अन्तर्राष्ट्रिय जगतमै राष्ट्रको छविमा आँच आउने तस्करीका घटनालाई प्रभावकारी ढंगले रोकथाम र नियन्त्रण गर्न राज्यको मूल नीति र प्रवृत्तिमै परिवर्तन ल्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्