काठमाडौं, २३ वैशाख । भारतको झारखण्ड राज्यमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको गुनासो उनका बाबुआमाले गाउँका अग्रजहरू समक्ष गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न ठानिएका १४ जनालाई पूर्वी राज्य झारखण्डमा पक्राउ गरिएको छ।
प्रहरीका अनुसार गाउँलेहरूले बलात्कारको अभियोग लागेकालाई सजायस्वरूप ५० हजार रूपैयाँ तिर्न र १ सय पटक उठबस गर्न भनेका थिए।
तर आरोपितहरू निकै क्रुद्ध बने र ती किशोरीका बाबुआमालाई पिटे र उनलाई आगोमा राखे।
स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामले समाचार संस्था एएफपीलाई भने, ‘आरोपित दुई व्यक्तिले आमाबुवालाई पिटे र उनीहरूको घरमा गएर ती किशोरीलाई साथीहरूको सहयोगमा जलाए।’
ती किशोरीलाई उनका आमाबुवा विवाहमा गएका बेला घरबाट अपहरण गरिएको थियो।
स्थानीय प्रहरीले उनलाई दुईजना पुरूषले राजा केन्दुवा गाउँ नजिकैको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको बताएका छन्।
बलात्कार र हत्याका ३ दोषीलाई मृत्युदण्ड
घटनाबारे खोज्दै जाँदा आमाबुवाले गाउँका अग्रजहरूलाई अपराध गरेको ठानिएकाहरू विरुद्ध अभियोग चलाउन भनेका थिए।
गाउँका अग्रजहरूको समूहले कानूनी हैसियत राख्दैन।
विवाद
यद्यपि, भारतको विकट क्षेत्रमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुन्छ र भारतको महँगो न्यायिक प्रक्रियामा जानुभन्दा विवाद मिलाउने एउटा माध्यम पनि हो।
उक्त राज्यको प्रहरीले बलात्कारपछि हत्या घटनामा आफूले अनुसन्धान गरिरहेका १८ व्यक्तिमध्ये १४ जनालाई पक्राउ गरिसकेको जनाएको छ।
बलात्कार गर्ने दुईमध्ये एकलाई अझै पक्राउ गर्न बाँकी रहेको बोकरोका प्रहरी निरीक्षक शम्भु ठाकुरले हिन्दुस्तान टाइम्सलाई बताएका छन्।
भारतमा यौन हिंसासम्बन्धी अपराधहरूको शृङ्खलामध्ये यो पछिल्लो घटना हो। सन् २०१६ मा मात्रै भारतमा ४० हजार बलात्कारका घटनाहरू प्रहरीसम्म पुगेका छन्।
बीबीसी
प्रतिक्रिया दिनुहोस्