मस्को, २ जेठ। सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ ।
सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न एक अनुसन्धान समूह त्यहाँ गएको उक्त समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी समाचार आएका थिए ।
ती खबर आधारहीन भएको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले जनाएको छ । रूसमाथि लागेका यस्ता आरोपमा कुनै सत्यता नभएको उसले बताएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “मस्कोले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको विना पूर्वाग्रह अनुसन्धानको पक्षमा रहेको छ ।”
यस पहिले नेदरल्याण्डका लागि बेलायती राजदूतावासले रूस र सिरियाले रासायनिक हतियार निवारणसम्बन्धि अन्तरराष्ट्रिय संगठन (ओपिसीडब्लु)ले खटाएका सदस्यलाई सिरियाको डुमा (घटनास्थल)मा प्रवेश गर्न अवरोध गरेको भनी जानकारी गराएको थियो ।
गत अप्रिल ७ गते भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमलामा ४० जना विद्रोही पक्षधर नागरिकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्