एजेन्सी । संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल वेबसाइट फेसबूकले सन् २०१८ को पहिलो तीन महिनामा लगभग ५८ करोड ३० लाख फेक अकाउन्ट बन्द गरिदिएको छ ।

कम्पनीका अनुसार, उसले यो कदम कम्युनिटी स्ट्यान्डर्ड कायम राख्नका लागि अनि समाजमा हिंसा, यौन वा आतंकवादी प्रोपागान्डा र हेट स्पीचलाई नियन्त्रण गर्नका लागि उठाएको हो ।

क्याम्ब्रिज एनालाइटिका डाटा लीक भएपछि विवादमा आएको फेसबूक हरेक दिन खुल्ने लाखौं फेक अकाउन्टमा रोक लगाउने प्रयास गरिरहेको छ । तर यति ठूलो कदम उठाएपनि सबै सक्रिय अकाउन्टमध्ये ४ प्रतिशत जति प्रोफाइल फेक भएको बताएको छ ।

फेसबूकले लगभग शत प्रतिशत स्प्याम पहिचान गर्छ र उसले पछिल्लो तीन महिनामा ८३७ मिलियन युजर पोस्ट डिलिट गरेको छ । यसबीचमा फेसबूकले हिंसा, सेक्स, आतंकवाद जस्ता विषय भएका पोस्टका विरुद्ध चेतावनी जारी गरको छ ।

फेसबूकको दाबीअनुसार, आर्टिफिसियल इन्टेलिजेन्समार्फत ८५.६ प्रतिशत आपत्तिजनक पोस्टको पहिचान गर्ने बताएको छ । हालै फेसबूकले प्रयोगकर्ताको निजी जानकारी प्रयोग गर्ने २०० भन्दा बढी एपहरूलाई आफ्नो प्लेटफर्मबाट हटाएको थियो ।