बाँके, २७ जेठ । रुकुमको सिस्ने गाउँपालिका एक जनप्रतिनिधिसहित तीन जना लागूऔषध अफिमको कारोबार गर्दैगर्दा रंगेहात पक्राउ परेका छन् । रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मनबहादुर खत्री, सिस्नेकै भुपेश खड्का र बम बहादुर खड्कालाई बाँके प्रहरीले साढे ६ केजी अफिमसहित नेपालगन्जबाट पक्राउ गरेको हो ।
सुराकीका आधारमा शनिबार दिउँसो पुष्पलाल चोकस्थित दैलेखी जय होटलको कोठाबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेक बहादुर तामाङले जानकारी दिए ।
प्रहरी उपरीक्षक तामाङका अनुसार उनीहरुले रुकुमबाट प्रति केजी १ लाख रुपैयाँका दरले खरिद गरेर भारतीय लागूऔषध कारोबारीलाई प्रतिकेजी ५ लाख रुपैयाँमा सम्ममा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरी उपरीक्षक तामाङका अनुसार रुकुम लगायतका पहाडी क्षेत्रमा अफिमको खेती गर्ने क्रम बढ्दो रहेको छ । उनले अफिम भारत जाने र त्यहाँबाट प्रशोधित भएर ब्राउनसुगरकारुपमा पुनः नेपाल भित्रिने समेत बताए ।
पक्राउ परेका तीनजनालाई लागू औषध ओसारपसार तथा नियन्त्रण ऐन २०३३ को दफा १४ (छ ३) बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको र सोही अनुरुप कारवाही हुने प्रहरी उपरीक्षक तामाङ्गले बताए ।
प्रतिक्रिया दिनुहोस्