पोखरा, ६ असार । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा अधिकांश सदस्यहरूले प्रदेश सरकारले बजेट विनियोजन समानुपातिक बन्न नसकेको भन्दै गुनासो व्यक्त गरेका छन् ।
विनियोजन विधेयकमाथिको छलफलमा सहभागी बन्दै सदस्यहरूले सरकारले बजेट पूर्व योजनाको प्राथमिकीकरण गरी पेश गर्न भनिए पनि त्यसअनुरुप बजेट विनियोजन हुन नसकेको बताए ।
छलफलका क्रममा प्रतिपक्षी सांसदका साथै सत्ता पक्षका कतिपय सदस्यले पनि रातो किताबमा राखिएका योजनाप्रति असन्तुष्टि व्यक्त गरे ।
सत्ता पक्षीय सांसद इन्द्रधारा डादु विष्टले छायामा परेका विकट गाउँ बस्तीका योजना रातो किताबमा देख्न नपाउँदा आफू चिन्तित भएको बताएका छन ।
“रातो किताबमा सयौँ पुलका योजनाका बीचमा आफूले मागेको एउटै मात्र पुल नदेख्दा, सयौँ खानेपानी योजनाका बीचमा आफ्नो पहिलो प्राथमिकतामा परेको खानेपानी योजना नदेख्दा मुटु कटक्क खाएको छ,” विष्टले भने, बाध्य भएर हिजो देब्रे हातले छाती थाम्दै मुखले हुन्छ र दाइने हात ढ्याप ढ्याप गर्नु पर्दा पीडा भयो ।
प्रतिक्रिया दिनुहोस्