काठमाडौं, १९ भदौ । एबीसी न्युज टेलिभिजनले आफ्नो ११ वर्ष पुरा गरी १२ औँ वर्षमा प्रवेश गरेको छ । गाउँ, सहर र दुनियाँ ब्युझाउने अभियानका साथ २०६५ भदौ १९ गतेबाट प्रशारण सुरु गरेको एबीसी न्यूज आजबाट ११ वर्ष पुरा गरि १२ औं वर्षमा प्रवेश गरेको हो ।
१२ औँ वर्ष प्रवेशको अवसरमा एबीसी न्युजको कार्यालयमा आयोजित कार्यक्रममा एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलले आगामी दिनमा अझ शसक्त भएर समाचारमूलक प्रस्तुतीलाई अगाडी बढाउने बताउनुभयो । अध्यक्ष कंडेलले एबीसीले विगतमा उठाएका विषय वस्तुले ( कन्टेन्ट) राष्ट्रिय राजनीतिका लागि मार्गदर्शक भएको बताउनुभएको हो ।
हिजो राजनीतिक परिवर्तनमा मिडियाको तर्फबाट सशक्त भुमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले अबका दिनमा मुलुकको विकास र समृद्धिका निम्ति जनपक्षिय पत्रकारितामार्फत सधैभरी झक्झकाउने बताउनुभयो ।
अहिले राजनीतिक स्थिरता सुरु भएको उल्लेख गर्दै यहाँले एबीसी न्युजले अब मुलुकको समृद्धिलाई मुख्य विषयवस्तु बनाउने प्रष्टाउनुभयो । एबीसी न्युजले उठाएको विषय वस्तुलाई अब अन्य मिडियाले पछ्याउने खालको उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष कंडेलले एबीसी न्युजले स्थापना कालदेखि नै पिछडिएका नागरिकको आवाज उजागर गर्दै आएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । एवीसी टेलिभिजन दुर दराजका आम आवाज विहिन हरुको आवाज बन्न सकेको र आम दर्शकको ढुक्ढुकी बन्न सफल भएको बताउदै अध्यक्ष कँडेलले थप सशक्त तरिकाले आम जनताको आवाजलाई बुलन्द गर्ने बताउनुभयो ।
टेलिभिजनको अबको यात्रा आर्थिक र समृद्धिमा केन्दित हुने बताउनुभयो । एबीसीले आफ्नो स्थापनादेखि नै मुलधारको मिडिया भन्दा फरक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष कँडेलले आगामी दिनमा पनि गरिब, दुखि जनताको पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो । यस अवसरमा टेलिभिजनले आफ्नो सेवा प्रदायक संस्था, विज्ञापनदाता, कर्मचारी, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्