काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि थप बढ्ने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज पहाडी भूभागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाडी क्षेत्र र लुम्बिनीका पहाडी तथा तराईका केही स्थानमा धेरै भारी वर्षा हुन सक्छ।
आज रातिदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ। मङ्गलबार र बुधबार पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रसहित केही जिल्लामा भारी वर्षाको क्रम जारी रहने विभागले जनाएको छ।
वर्षासँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाका स–साना नदी र खोलामा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम उच्च रहेको चेतावनी दिइएको छ।
काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, कास्की, चितवन, नवलपरासी, पाल्पा, गुल्मी लगायतका जिल्लामा बाढीको जोखिम रहने भएकाले नदी तटीय बस्ती, होचा भूभाग र खोलानाला आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
मौसम विभागले स्थानीय प्रशासनबाट जारी हुने सूचना पालना गर्न, आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा अनावश्यक रूपमा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सबैलाई अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्