पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानुनी आधार तयार भएको छ। प्रदेश सभाबाट दोस्रो पटक पारित भएको सम्बन्धित विधेयक सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्ट ले प्रमाणीकरण गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रवीण पौडेल का अनुसार ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संविधानअनुसार प्रमाणीकरण गरिएको हो।
यो विधेयक पहिलो पटक असार २५ गते प्रदेश सभाबाट पारित भई असार ३० गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पुगेको थियो। तर, प्रदेश प्रमुखले संघीय कानुनसँग बाझिएको भन्दै तीन बुँदे सन्देशसहित साउन ८ गते पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका थिए।
प्रदेश सभाले भने विधेयकलाई साउन १५ गते यथावत् रूपमा पुनः पारित गरी प्रमाणीकरणका लागि पुनः पठाएको थियो। संविधानको धारा २०१(४) अनुसार दोस्रो पटक पारित भएर आएको विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेकाले सोमबार विधेयक प्रमाणीकरण भएको हो।
विधेयक प्रमाणीकरणसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, उत्पादन, उपयोग, नियमन र व्यवस्थापन सम्बन्धी कानुनी आधार तयार भएको छ।
प्रदेश प्रमुखले पुनर्विचारका लागि विधेयक फिर्ता गरेको यो घटना गण्डकी प्रदेशको संसदीय इतिहासमै पहिलो पटक भएको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्