काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ प्रणाली सार्वजनिक गरेको छ। पार्टीले ‘क्यान्डिडेट क्लब’ स्थापना गर्दै मेयरदेखि वडा सदस्यसम्मका सबै आकांक्षीलाई चरणबद्ध परीक्षण, मूल्यांकन र आन्तरिक निर्वाचनबाट अनिवार्य रूपमा गुजार्ने व्यवस्था लागू गरेको हो।
करिब आठ महिनापछि हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले तयार पारेको कार्यविधिअनुसार देशभरका ३५ हजार २२१ पद का उम्मेदवार यही प्रणालीमार्फत छनोट गरिनेछन्। पार्टीका अनुसार यसको उद्देश्य टिकट वितरणलाई पारदर्शी, वैज्ञानिक र वस्तुपरक बनाउनुका साथै योग्य नेतृत्वलाई अघि ल्याउनु हो।
‘क्यान्डिडेट क्लब’मा आवेदन अनिवार्य
कार्यविधिअनुसार मेयर, उपमेयर, वडाध्यक्ष वा वडा सदस्य जुनसुकै पदमा उम्मेदवारी दिन चाहनेले सबैभन्दा पहिले ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्नेछ।
आवेदक कानुनी रूपमा योग्य, रास्वपाको साधारण सदस्य तथा पार्टीको विचार, सिद्धान्त र नीतिप्रति प्रतिबद्ध हुनुपर्नेछ। साथै घरेलु हिंसा, यौन दुर्व्यवहार वा साइबर बुलिङमा संलग्न नरहेको, वैवाहिक अवस्थाबारे कानुनी स्पष्टता रहेको तथा आफूमाथि कुनै मुद्दा भए–नभएको स्वघोषणा पनि अनिवार्य गरिएको छ।
टिकट पाउन चार चरण पार गर्नैपर्ने
रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई १०० पूर्णाङ्कमा आधारित चार चरणमा विभाजन गरेको छ। सबै चरणमा प्राप्त अंकका आधारमा अन्तिम उम्मेदवार तय गरिनेछ।
१. लिडरसिप एकेडेमी (२५ प्रतिशत)
आवेदन स्वीकृत भएका उम्मेदवारले ‘लिडरसिप एकेडेमी’मा सहभागी भई परीक्षा उत्तीर्ण गर्नुपर्नेछ। यो चरणमा २५ प्रतिशत अंकभार रहनेछ। परीक्षा पास गर्न नसक्ने उम्मेदवार त्यसै चरणबाट बाहिरिनेछन्।
२. पोलिटिकल प्रोक्सिमिटी (२५ प्रतिशत)
यस चरणमा उम्मेदवारको सांगठनिक योगदान, जनसम्बन्ध, लोकप्रियता, निर्वाचन जित्ने सम्भावना, आचरण तथा सामाजिक मूल्यांकनका आधारमा अंक दिइनेछ।
३. समावेशी सम्बोधन (१० प्रतिशत)
संवैधानिक समावेशी सिद्धान्तअनुसार अतिरिक्त १० प्रतिशत अंक प्रदान गरिनेछ। तर विगतमा सांसद, प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख वा उपप्रमुख, मन्त्री तथा उच्च राजनीतिक वा कूटनीतिक नियुक्ति पाइसकेका र आरक्षण सुविधा प्रयोग गरिसकेकाले यो अतिरिक्त अंक पाउने छैनन्।
४. आन्तरिक निर्वाचन (४० प्रतिशत)
सबैभन्दा बढी ४० प्रतिशत भारांक पार्टीभित्र हुने आन्तरिक निर्वाचनलाई दिइएको छ। सदस्यहरूको मतदानबाट प्राप्त मत अन्तिम मूल्यांकनको मुख्य आधार हुनेछ।
आन्तरिक निर्वाचनमा तीन तहका मतदाताको सहभागिता रहनेछ। क्रियाशील सदस्यको मतभार ७५ प्रतिशत, मध्यवर्ती सांगठनिक तहको १५ प्रतिशत र विशिष्ट मतदाता (केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय सांसद) को १० प्रतिशत रहने कार्यविधिमा उल्लेख छ।
चलखेल र गुटबन्दीमा कडा कारबाही
रास्वपाले टिकट वितरणमा आर्थिक चलखेल, धाँधली, गुटबन्दी, दुष्प्रचार तथा चरित्रहत्या जस्ता गतिविधिप्रति ‘शून्य सहनशीलता’ अपनाउने जनाएको छ।
कार्यविधिअनुसार यस्ता गतिविधिलाई गम्भीर अनुशासनहीनता मानी कारबाही गरिनेछ। यसको अनुगमनका लागि केन्द्रीय पदाधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिनेछ।
अपवादमा मात्रै वैकल्पिक व्यवस्था
कार्यविधिले विशेष वा असाधारण परिस्थितिमा नियमित प्रक्रियाबाहिरबाट पनि उम्मेदवार छनोट गर्न सकिने व्यवस्था राखेको छ। तर त्यस्तो निर्णयका लागि केन्द्रीय समितिको दुईतिहाइ बहुमत अनिवार्य हुने उल्लेख गरिएको छ।
रास्वपाको दाबी छ, नयाँ प्रणालीले टिकट वितरणमा हुने विवाद, पहुँच र प्रभावका आधारमा हुने निर्णयलाई न्यून गर्दै योग्य, सक्षम र जनआधारित नेतृत्व चयन गर्ने आधार तयार पार्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्