काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको वर्तमान अवस्थाबारे प्रतिनिधिसभालाई स्पष्ट जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केवरमा निर्माण प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने तयारी भइरहेको भन्दै आपत्ति जनाएपछि सभामुख अर्यालले सरकारलाई यथार्थ विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन्।
“आजै माननीय चन्द्रमोहन यादवले उठाउनुभएको विषयमा वास्तविकता के हो ? यसबारे सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु,” सभामुख अर्यालले बैठकमा भने।
बैठकमा सांसद यादवले ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मन्त्रिपरिषद्को निर्णय भइसके पनि लामो समयदेखि काम अघि नबढेको बताए।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर अन्यत्र निर्माण हुने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे।
सांसद यादवका अनुसार ढल्केवर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा रहेको रणनीतिक क्षेत्र हो। साथै, मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको प्रमुख व्यापारिक तथा यातायात केन्द्र भएकाले यहाँ दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्छन्।
यही कारण सडक दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गर्दै उनले ढल्केवरमा ट्रमा सेन्टर निर्माण अत्यावश्यक भएको बताए।
सांसद यादवले तत्कालीन मन्त्रिपरिषद्ले गरिसकेको निर्णय कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै विकास आयोजनाहरू अलपत्र पार्ने वा पूर्वनिर्णय उल्ट्याउने कार्य नगर्न चेतावनीसमेत दिए।
उनले सरकारसँग ढल्केवर ट्रमा सेन्टर निर्माण प्रक्रिया शीघ्र अघि बढाएर जनतालाई गुणस्तरीय आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरे।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्