काभ्रे । गत साउन २० गते दोलालघाटबाट सुनकोसी नदीमा हेलिएका वृद्ध दम्पतीमध्ये महिलाको शव फेला परेको छ। मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सीमास्थित सुनकोसी नदीमा फेला परेको प्रहरीले जनाएको छ।
पति अझै बेपत्ता
तिलकुमारीसँगै नदीमा हेलिएका उनका पति ६८ वर्षीय केदारनाथ पराजुली अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर टोलीसँगै र्याफ्टिङ टोलीसमेत परिचालन गरिएको छ। नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
क्यान्सर र प्रोस्टेटको समस्याबाट पीडित
प्रहरीका अनुसार बुधबार साँझ काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिरनजिकबाट दम्पती सुनकोसी नदीमा हेलिएका थिए।
तिलकुमारी बोनम्यारो क्यान्सरका कारण अपाङ्ग अवस्थामा थिइन् भने उनका पति केदारनाथ पनि प्रोस्टेटसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित थिए।
श्रीमतीलाई पिठ्युँमा बोकेर दोलालघाट पुगेका थिए
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार केदारनाथले श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटतर्फ लगिरहेको दृश्य सीसीटीभी फुटेजमा देखिएको छ।
स्थानीयवासीका अनुसार त्यसपछि उनीहरू दुवैजना सुनकोसी नदीमा हाम फालेका थिए।
तिलकुमारीको शव फेला परे पनि केदारनाथको अवस्था अझै अज्ञात छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै उनको खोजीलाई तीव्रता दिएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्