बागलुङ । बागलुङ प्रहरीले गलकोट नगरपालिका–२ नरेठाँटीबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गलकोट नगरपालिका–२ जमुनडाँडाका २९ वर्षीय विमल विक र ताराखोला गाउँपालिका–२ का २२ वर्षीय समिर विश्वकर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।
प्रहरीले उनीहरूको साथबाट २१ वटा पोकामा राखिएको तथा घरमा लुकाइराखेको गरी कुल ५८८ ग्राम गाँजा बरामद गरेको जनाएको छ। गाँजा बोकेर हिँडिरहेको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यसैबीच प्रहरीले काठेखोला गाउँपालिका–५ स्थित लटेखोरिया सामुदायिक वनबाट अवैध रूपमा काठ ओसारपसार भइरहेको अवस्थामा ट्याक्टर र काठसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ग १ त ७४६३ नम्बरको ट्याक्टरमा लोड गरिएको ३०५.३ क्युफिट गोब्रेसल्लाको गोलिया काठ बरामद गरिएको हो। ट्याक्टर, काठ तथा संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिए।
त्यस्तै, प्रहरीले अवैध रूपमा ढुंगा उत्खनन तथा ओसारपसार गर्नेहरूमाथि पनि कारबाही अघि बढाएको छ। बिहुँले प्रहरी चौकीको टोलीले ताराखोला गाउँपालिका–१ माझखर्कबाट पोखरातर्फ लैजाँदै गरेको बा १३ च ५०१३ नम्बरको पिकअप भ्यानलाई स्लेट ढुंगासहित नियन्त्रणमा लिएको थियो।
बिलबिजकबिना स्लेट ढुंगा ओसारपसार गरेको पाइएपछि प्रहरीले उक्त भ्यान बागलुङ नगरपालिकालाई बुझाएको थियो। नगरपालिकाले घटनामा १० हजार रुपैयाँ जरिवाना गरेको राजस्व शाखाका सहायक कम्प्युटर अपरेटर हरिनारायण उपाध्यायले जानकारी दिए।
यसैगरी, निसीखोला गाउँपालिका–४ कालाखेतबाट अवैध रूपमा ढुंगा उत्खनन गरी निसीखोला–३ उन्निचौरतर्फ लैजाँदै गरेको अवस्थामा लु ३ त ८८०६ नम्बरको ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त ट्याक्टरलाई आवश्यक कारबाहीका लागि गाउँपालिकामा बुझाइएको प्रहरीले जनाएको छ।
पछिल्लो समय बागलुङमा लागुऔषध नियन्त्रणसँगै अवैध वन पैदावार तथा प्राकृतिक स्रोतको उत्खनन र ओसारपसारमाथि प्रहरीले निगरानी बढाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्