बागलुङ । निजी क्लिनिकमा हजारौँ रुपैयाँ खर्च लाग्ने भिडियो एक्सरे सेवा धौलागिरि प्रादेशिक अस्पतालले गर्भवतीलाई निःशुल्क दिन थालेको छ। अस्पतालले गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन प्रत्येक गर्भवतीलाई एकपटक निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराएको हो।
आर्थिक अवस्था कमजोर भएका कारण गर्भमा रहेको शिशुको स्वास्थ्य परीक्षणबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए।
उनका अनुसार नियमित गर्भ परीक्षणको प्रोटोकल पूरा गराउँदै कम्तीमा एकपटक भिडियो एक्सरे गरी शिशुको अवस्था पत्ता लगाउने व्यवस्था गरिएको हो। आर्थिक अभावका कारण निजी स्वास्थ्य संस्थामा परीक्षण गर्न नसक्ने महिलाका लागि सेवा विशेष उपयोगी हुने उनको भनाइ छ।
अस्पतालका अनुसार आर्थिक अवस्था राम्रो भएका तर चेतनाको अभावमा गर्भ परीक्षण नगराउने महिलालाई समेत नियमित स्वास्थ्य परीक्षणका लागि प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। निःशुल्क भिडियो एक्सरे सेवाका लागि अस्पतालले ५ लाख रुपैयाँको कोष स्थापना गरेको छ।
‘आमा घर’मा निःशुल्क बस्ने–खाने व्यवस्था
अस्पतालले गर्भ परीक्षणका लागि आउने महिलालाई नियमित स्वास्थ्य परीक्षणमा जोडिन प्रोत्साहित गर्नुका साथै सुत्केरी हुने समयमा बस्ने तथा खाने समस्या हुनेलाई अस्पताल परिसरमै व्यवस्था गरेको छ।
अस्पतालमा रहेको ‘आमा घर’मा १० दिनसम्म बस्ने–खाने व्यवस्था गरिएको छ। उक्त सुविधाबारे जानकारी नहुँदा कतिपय गर्भवतीले बाहिर डेरा खोज्ने गरेको पाइएपछि अस्पतालले यसको प्रचारसमेत थालेको छ। ‘आमा घर’ व्यवस्थापनका लागि अस्पतालले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
हाइड्रोसिलदेखि डायलायसिससम्म निःशुल्क सेवा
अस्पतालले हाइड्रोसिलको उपचारसमेत निःशुल्क गर्ने भएको छ। विशेषज्ञ अस्पतालमा अधिकांश सेवा शुल्कमा आधारित भए पनि आधा दर्जनभन्दा बढी सेवामा निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले जिल्लाका सबै स्थानीय तहमा पुगेर महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण निःशुल्क गर्दै आएको छ। त्यस क्रममा प्रसूति तथा महिलासम्बन्धी अन्य स्वास्थ्य समस्याको उपचार सेवा पनि उपलब्ध गराउने योजना रहेको डा. तिवारीले बताए।
हरेक महिना एकपटक स्थानीय तहसँग सहकार्य गरी स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गर्ने योजना अस्पतालले बनाएको छ।
त्यस्तै, मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलायसिस सेवा पनि सञ्चालनमा छ। हाल ६३ जना नियमित बिरामीले अस्पतालबाट डायलायसिस सेवा लिइरहेका छन्।
हिंसापीडित महिलाका लागि अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सञ्चालनमा छ। ओसीएमसी शाखा प्रमुख देवी भट्टराईका अनुसार हरेक वर्ष करिब एक सय हिंसापीडित महिलाले यहाँ निःशुल्क उपचार सेवा पाउँदै आएका छन्।
कुपोषित बालबालिकाको निःशुल्क उपचार
अस्पतालले कुपोषित बालबालिकाको समेत निःशुल्क उपचार गर्दै आएको छ। हालसम्म करिब दुई सय कुपोषित बालबालिकालाई उपचार गरिएको छ। आवश्यकताअनुसार उनीहरूलाई बढीमा तीन महिनासम्म पोषण पुनःस्थापना केन्द्रमा राखेर उपचार गर्ने गरिएको छ।
विशेषज्ञ सेवा विस्तारसँगै जटिल शल्यक्रिया
धौलागिरि प्रादेशिक अस्पतालमा हाल १८ जना विशेषज्ञ चिकित्सकसहित ३० भन्दा बढी चिकित्सक कार्यरत छन्। विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै अस्पतालमा जटिल प्रकृतिका शल्यक्रियासमेत हुन थालेका छन्।
गत आर्थिक वर्षमा बेहोस बनाएर गरिएका २५० वटा र अन्य ४१५ वटा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
वि.सं. २०१५ सालमा डिस्पेन्सरीका रूपमा सुरु भएको अस्पताल अहिले गण्डकी प्रदेशस्तरीय अस्पतालका रूपमा सञ्चालनमा छ। दुई सय शय्या सञ्चालन गर्ने लक्ष्य राखिएकोमा हाल एक सय ४० शय्याबाट सेवा दिइँदै आएको छ।
अस्पतालमा हाडजोर्नी, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति, हेमोडायलायसिस, सुरक्षित गर्भपतन, आँखा उपचार तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा सञ्चालनमा छन्।
पछिल्लो समय बाल उपचार केन्द्र र प्रसव पीडालाई कम गर्ने इपिड्युरल एनेस्थेसिया सेवासमेत उपलब्ध गराइएको छ। भिडियो एक्सरे तथा ट्रमा उपचार सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परेका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था पनि घटेको अस्पतालले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्