बुटवल । रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बुधबार साँझ करिब ८ः४० बजे गएको पहिरोले स्थानीयका ६ वटा घर तथा गोठ पुरिएका थिए। अविरल वर्षापछि आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्।
घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले बेपत्ता नागरिकको जीवनरक्षा पहिलो प्राथमिकतामा राखेर खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
तीनवटै सुरक्षा निकाय परिचालन
मुख्यमन्त्री आचार्यका अनुसार घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमै पुगेर खोजी तथा उद्धार कार्यको समन्वय गरिरहेका छन्।
बेपत्ताको खोजीका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोतसाधन तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई पनि परिचालन गरिएको मुख्यमन्त्रीले बताएका छन्।
उनले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा स्वयंसेवकलाई समेत उद्धार कार्यमा समन्वयात्मक रूपमा जुट्न आग्रह गरेका छन्।
घाइतेको उपचार र सतर्कता
मुख्यमन्त्री आचार्यले पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएका छन्।
लगातार वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम हुनसक्ने भन्दै उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। विपद्को जोखिम देखिएमा वा सूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत उनले अपिल गरेका छन्।
हाल १० जना बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रदेश सरकारले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्