काठमाडौं । नेपाल आयल निगमले मागअनुसार भारतबाट एलपी ग्यास आयात भइरहे पनि बजारमा ग्यास अभाव देखिनु आश्चर्यजनक भएको जनाएको छ।
शुक्रबार उद्योग मन्त्रालयमा आयोजित छलफलमा निगमका कार्यकारी प्रमुख नागेन्द्र साहले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। उनका अनुसार हाल नेपालमा आवश्यकताअनुसार भारतबाट ग्यास भित्रिरहेको छ।
“अहिले मागअनुसार भारतबाट ग्यास आइरहेको छ। तर, के कारणले ग्यास अभाव भएको हो भन्ने पत्ता लगाउन सकिएन। कहीँ न कहीँ समस्या त छ,” साहले भने।
उनले पछिल्लो समय उपभोक्ता एकैपटक ग्यास लिन आउँदा बजारमा अभावजस्तो अवस्था सिर्जना भएको हुनसक्ने बताए।
वितरण प्रणालीमा चाप
निगमका अनुसार बजारको नियमित माग पूरा हुने गरी ग्यास आपूर्ति भइरहेको छ। तर, ग्यास लिन उपभोक्ताको भीड एकैपटक बढ्दा वितरण प्रणालीमा चाप परेको निगमको भनाइ छ।
यसअघि सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा २४ सै घण्टा ग्यास बिक्री गर्ने व्यवस्था मिलाउने तयारीसमेत अघि बढाएको छ। सरकारले करिब ३० देखि ५० स्थान तोकेर ग्यास बिक्रीको व्यवस्था गर्ने तयारी गरेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्