काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानमा हेजबुल्लाहको ‘बद्र युनिट’का वरिष्ठ कमान्डर अबु हसन अलालाई लक्षित कारबाहीमा मारिएको दाबी गरेको छ।
इजरायली सेनाका अनुसार दक्षिणी लेबनानको देइर अल–जाहरानी क्षेत्रमा शनिबार गरिएको हवाई कारबाहीमा अबु हसन अलालाई लक्षित गरिएको थियो। सेनाले उनी हेजबुल्लाहको बद्र युनिटमा वरिष्ठ भूमिकामा रहेको र इजरायली सेनाविरुद्ध विभिन्न आक्रमणको योजना तथा सञ्चालनमा संलग्न रहेको दाबी गरेको छ।
इजरायली सेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणमा अलाले दक्षिणी लेबनानमा इजरायली सैनिकलाई लक्षित गरी विस्फोटक पदार्थ बोकेका ड्रोन प्रक्षेपण गर्ने गतिविधिसहित विभिन्न सैन्य कारबाहीमा भूमिका खेलेको आरोप लगाएको छ। सेनाले उनको मृत्युले हेजबुल्लाहको बद्र युनिटको सञ्चालन क्षमतामा असर पार्ने दाबी गरेको छ।
यो कारबाही दक्षिणी लेबनानमा इजरायल र हेजबुल्लाहबीचको तनाव पुनः बढिरहेका बेला भएको हो। शनिबार मात्रै इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा ११ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन्। मृतकमध्ये बालबालिका र महिला पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायलले पछिल्लो आक्रमणलाई हेजबुल्लाहबाट भएको भनिएको आक्रमणको जवाफी कारबाहीका रूपमा प्रस्तुत गरेको छ। इजरायली पक्षका अनुसार हेजबुल्लाहको आक्रमणमा तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए। त्यसपछि दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली सेनाले हवाई तथा अन्य सैन्य कारबाही तीव्र बनाएको हो।
तर लेबनानी अधिकारीहरूले इजरायली आक्रमणमा सर्वसाधारणसमेत मारिएको भन्दै त्यसको निन्दा गरेका छन्। प्रधानमन्त्री नवाफ सलामले आक्रमणलाई क्षेत्रीय स्थायित्वका लागि खतरा भन्दै शान्ति स्थापनाका प्रयासमा यसले नकारात्मक असर पार्न सक्ने बताएका छन्।
यसैबीच, अरब लिगले पनि दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणको निन्दा गरेको छ। शनिबारको आक्रमणमा ११ जनाको मृत्यु भएको घटनाले द्वन्द्वलाई थप खतरनाक दिशातर्फ धकेल्न सक्ने भन्दै अरब लिगले चिन्ता व्यक्त गरेको छ। साथै, हिंसा बढ्दा द्वन्द्व अन्त्य गर्ने तथा राजनीतिक समाधान खोज्ने प्रयास कमजोर हुन सक्ने चेतावनी दिएको छ।
पछिल्लो घटनाक्रमले इजरायल र हेजबुल्लाहबीच कायम रहेको युद्धविराम तथा तनाव घटाउने प्रयास अझै कमजोर अवस्थामा रहेको देखाएको छ। जुनमा भएको युद्धविरामपछि पनि दक्षिणी लेबनानमा पटक–पटक सैन्य गतिविधि भइरहेका छन्। पछिल्लो हिंसा त्यसैबीचको सबैभन्दा गम्भीर घटनामध्ये एक बनेको छ।
विशेषगरी हेजबुल्लाहका वरिष्ठ सैन्य कमान्डरलाई लक्षित गर्ने इजरायली अभियान र त्यसको जवाफमा हेजबुल्लाहबाट हुन सक्ने प्रतिकारले दक्षिणी लेबनानमा पुनः ठूलो स्तरको सैन्य टकरावको जोखिम बढाएको छ। यसले लेबनानमा जारी मानवीय संकट थप गहिरिन सक्ने तथा इजरायल–लेबनानबीचको तनाव नियन्त्रण गर्ने कूटनीतिक प्रयासलाई समेत चुनौती दिने चिन्ता बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्