हेटौँडा । लामो समयदेखि आन्तरिक विवादमा फसेको नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलले विवाद समाधान गर्दै पूर्वस्वास्थ्यमन्त्री किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ।
मंगलबार मकवानपुरको हेटौँडामा बसेको संसदीय दलको बैठकले जगन्नाथ (जेएन) थपलियालाई संसदीय दलको नेतामै यथावत् राख्दै थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो।
थपलियाविरुद्ध साउन २७ गते १९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएपछि एमालेभित्र विवाद चर्किएको थियो। मंगलबारको बैठकमा संसदीय दलको नेता परिवर्तनदेखि सरकार गठनसम्मका विभिन्न विकल्पमा छलफल भएको थियो।
अन्ततः थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने मध्यमार्गी सहमति जुटेको हो।
बैठकमा एमाले वाग्मती प्रदेश इन्चार्ज महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, संसदीय दलका नेता थपलिया, मुख्यमन्त्रीका दाबेदार किरण थापालगायत प्रदेशसभा सदस्यहरूको सहभागिता थियो।
अब एमालेले नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग समेत छलफल अघि बढाउने भएको छ।
वाग्मतीमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच यसअघि नै सरकार गठनका लागि सहमति भइसकेको छ। उक्त सहमतिअनुसार मुख्यमन्त्री पद एमालेले पाउनेछ।
वाग्मती प्रदेशसभामा एमालेका २५, नेकपाका २६, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन्। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्