अत्तरिया । कैलालीको अत्तरियामा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयवासीले इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गर्दै प्रदर्शन गरेका छन्।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहरा रहेकी छन्। उनी अत्तरिया बसपार्क क्षेत्रमा पानी बेच्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको बसले बोहरालाई ठक्कर दिएको हो। महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै बस चालक दार्चुलाको मालिकार्जुनका रोहितसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयले घटनाप्रति विरोध जनाउँदै इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका छन्। प्रदर्शनकारीले सडकमा टायर बालेर समेत विरोध जनाएका हुन्।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। बसको गति र चालकको सम्भावित लापरवाहीलगायत पक्षमाथि अनुसन्धान भइरहेको छ।
मृतक बोहराको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्