जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सरकार संसद र जनताप्रति पर्याप्त रूपमा उत्तरदायी हुन नसकेको आरोप लगाएका छन्।
जनकपुरधाममा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधीले सरकारले संसदीय गरिमा, जवाफदेहिता र लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरेको आरोप लगाएका हुन्।
लोकतान्त्रिक व्यवस्थामा सरकारको वैधता र प्रभावकारिता संसदप्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
“बदलाको भावनाबाट सुशासन र विधिको शासन सञ्चालन हुन सक्दैन,” निधीले भने।
उनले पूर्वाग्रहका आधारमा व्यक्तिमाथि अभियोग लगाउने तर पछि अदालतबाट सफाइ पाउने क्रम देखिनु चिन्ताजनक भएको टिप्पणी गरे।
प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरिएको आरोप
नेता निधीले संघीयता कार्यान्वयनमा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाए। प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रदेशहरूले आफ्नै प्रहरी प्रशासन र आवश्यक कर्मचारी संयन्त्र पूर्ण रूपमा प्राप्त गर्न नसकेको उनको भनाइ थियो।
दुईतिहाइको शक्ति रहेको दाबी गर्ने राजनीतिक दलहरूले समेत प्रदेशलाई आवश्यक अधिकार दिन कन्जुस्याइँ गर्दा संघीयता र प्रदेश संरचना कमजोर बन्दै गएको उनले बताए।
प्रदेशलाई संवैधानिक अधिकारअनुसार बलियो र सक्षम बनाउन आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
पार्टी एकता र विधान पालनामा जोड
नेपाली कांग्रेसको आन्तरिक राजनीति तथा १५औँ महाधिवेशनका विषयमा बोल्दै निधीले पार्टी एकता, विधि र विधानको पालनालाई प्राथमिकता दिनुपर्ने बताए।
कानुनी तथा प्राविधिक विषयमा अदालतबाट हुने पुनरावलोकनले सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको उनले बताए।
उनले आगामी महाधिवेशनलाई पार्टीभित्रको एकता बलियो बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे। साथै कांग्रेसका नेता–कार्यकर्तालाई गाउँ र वडा तहसम्म पुगेर संगठन सुदृढीकरणमा सक्रिय हुन निर्देशन दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्