काठमाडौं । बिहीबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । सरकार र सांसदहरू भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुट्नुपर्ने भएकाले बैठक स्थगन गरिएको हो ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा, “हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०५३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखको निर्देशानुसार अर्को सूचना नभएसम्मको लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” उल्लेख छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाढीपर्छीको विषयमा आकस्मिक समयमा धारणा राखेका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको तर्फबाट सदनलाई बाढीको अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले भोलिका लागि बैठक तय गरेका भए पनि, पछि राहत कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले स्थगित गरिएको हो ।
बैठक स्थगनको कारण
भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थिति र तत्कालै आवश्यक पर्ने राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ । सरकारले सांसदहरूलाई पनि सो कार्यमा सक्रिय सहभागिता गराउन चाहेको छ । त्यसैले, संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्