काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्।
त्यस्तै, रसुवाको गोसाइँकुण्डका दावा डोल्माको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा ताङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नामथर बताउन नसक्ने एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ।
यस्तै, गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ। उहाँसँगै तीन महिनाका नाबालक शिशुसमेत अस्पतालमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दियाका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
उद्धारपछि काठमाडौं ल्याइयो
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण उनीहरू घाइते भएका हुन्। घटनालगत्तै उद्धारमा खटिएको प्रहरीले घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याएको हो।
भोटेकोशी बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्