काठमाडौँ । बाढीबाट प्रभावित नेपालीको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौँ । बाढीबाट प्रभावित नेपालीको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
विपद्को समाचार सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराउनुभएको हो।
दक्षिणी छिमेकी भारतले पनि बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ।
प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग निरन्तर समन्वय गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले भारतबाट प्राप्त हुने राहत सामग्री बुधबार नै काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ।
यस्तै, उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावितका लागि तत्काल नगद सहयोग गर्ने भएको छ। नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई सहयोग रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको जनाइएको छ।
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोग परिचालन तथा वितरणको मोडालिटीबारे छलफल भइरहेको बताउनुभएको छ।
यसैबीच, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। यससँगै प्रभावित क्षेत्रमा राहत सामग्री जुटाउने र उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने बाटो खुलेको सरकारले जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्