काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक गरेको विवरणअनुसार रसुवा र नुवाकोटका १३ वटा प्रभावित जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन भएका हुन् ।
इप्पानका अनुसार रसुवाका सातवटा बाढी प्रभावित आयोजनामा मात्रै ७३० जना सम्पर्कविहीन छन् । ती आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोसी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत् आयोजना रहेका छन् ।
२१६ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली–१ आयोजनामा सबैभन्दा धेरै ५७६ जना सम्पर्कविहीन छन् । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) हो । इप्पानका अनुसार हालसम्म आयोजनामा कार्यरत २५४ जनाको मात्र उद्धार भएको छ ।
त्यस्तै, १११ मेगावाटको सञ्चालनमा रहेको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन् । १२० मेगावाटको निर्माणाधीन रसुवा–भोटेकोसी आयोजनामा चारजना सम्पर्कविहीन छन् ।
२० मेगावाटको सञ्चालनमा रहेको लाङटाङ खोला आयोजनामा ४२ जना, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा आठजना र पाँच मेगावाटको मेलुङ खोला आयोजनामा सातजना सम्पर्कविहीन छन् ।
६.४२ मेगावाटको निर्माणाधीन माथिल्लो मेलुङ–ए आयोजनामा सम्पर्कविहीनको संख्या भने इप्पानको विवरणमा उल्लेख गरिएको छैन ।
रसुवाका प्रभावित आयोजनामध्ये चारवटा सञ्चालनमा छन् भने तीनवटा निर्माणाधीन छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १५८ मेगावाट र निर्माणाधीन आयोजनाको कुल क्षमता ३४२ मेगावाट रहेको इप्पानले जनाएको छ ।
नुवाकोटका आयोजनामा २०४ जना सम्पर्कविहीन
नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजनामा २०४ जना सम्पर्कविहीन भएका छन् । प्रभावित आयोजनामा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिडल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना रहेका छन् ।
२४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा एक–एक जना सम्पर्कविहीन छन् ।
६० मेगावाटको माथिल्लो त्रिशूली–३ एमा ४२ जना र ३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–३ बीमा १५८ जना सम्पर्कविहीन छन् । यस्तै, १५.६ मेगावाटको निर्माणाधीन मिडल त्रिशूली गंगा आयोजनामा दुईजना सम्पर्कविहीन छन् ।
२५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनामा भने सम्पर्कविहीनको संख्या इप्पानको विवरणमा उल्लेख गरिएको छैन ।
नुवाकोटका प्रभावित आयोजनामध्ये चारवटा सञ्चालनमा र दुईवटा निर्माणाधीन छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट र निर्माणाधीन आयोजनाको कुल क्षमता ५२.६ मेगावाट रहेको छ ।
इप्पानका अनुसार लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए र चिलिमे जलविद्युत् आयोजनामा तत्काल उद्धारको आवश्यकता देखिएको छ । उद्धारका लागि हेलिकोप्टरको प्रबन्ध गर्ने पहल भइरहेको इप्पानले जनाएको छ ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत १८ जनाको भने उद्धार भइसकेको इप्पानले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्